Advertisements

 

Advertisements

 

 

 

 

 

 

 

 

 

 

अर्जुन काफ्ले

मोरङ्ग पथरी शनिश्चरेका पवन अधिकारी ५ महिना अगाडी बैदेशिक रोजगारमा जान भनेर दुईपटक काठमाडौंका म्यानपावर कम्पनी धाए । यूएईको भिषा पाए विदेश पुगेर राम्रो कमाइ हुने आश वोकेका उनी युएई जान मोटो रकम म्यानपावर कम्पनीले मागेपछि घर फर्किए । बरु विदेश जाँदा लाग्ने पैसाले त यहिं केहि गर्छु भन्ने लाग्यो र सिटी सफारी किनें अधिकारी भन्छन् अहिले यसको कमाई पनि राम्रो छ ।

जसै उनको सिटी सफारी पथरी वरापरका यात्रु बोकेर दौडिन थाल्यो, अधिकारीको बैदेशिक रोजगार प्रतिको मोह घट्दै गयो । ‘दैनिक ८ सय देखि २ हजारसम्म आम्दानी आफ्नै घरमा वसेर गर्न सकिने रहेछ, किन वेकारमा विदेश जानु’ उनी भन्छन् ‘स्वरोजगार वन्न स्वदेशमै सकिने रहेछ ।’घर परिवार संगै बसेर विदेशमा कमाइने वरावरको आम्दानी हुने उनको भनाइ छ ।

पथरी शनिश्चरेकै लाख बहादुर मोक्तानले मलेसियामा ६ वर्ष रोजगारी गरे । रोजगारी गरेर फर्किएपछि उनले पनि तीनपाग्रे अटो किनेका छन् । पछिल्लो डेढ बर्षदेखि पथरीवजार आसपासमा अटो रिक्सा गुडाइरहेका मोक्तानले यात्रुलाई गन्तव्यमा मात्र पु¥याएका छैनन् आफ्नो आम्दानीपनि राम्रो गरिरहेका छन् । मलेसियाको पेनाङ्ग, कोतादमनसरा लगायतका ठाउँमा काम गर्दा भन्दा आफ्नै परिवारसँग वसेर अटो कुदाउँदा बढी सन्तुष्टि भएको उनी बताउँछन् । मोक्तानले मलेसियामा कमाएको केहि रकम जम्मा पारेर किनेको अटोबाट दैनिक ३ हजारसम्म कमाइ हुने गरेको बताए । कमाईको अनुपात सधैं एउटै हुन्न, चाडपर्वमा खटाई पनि बढ्छ र कमाइ पनि ।

मलेसिया र कतारमा गरेर ७ वर्ष रोजगारी गरेको पथरी शनिश्चरेकै झनप्रसाद पोख्रेल पनि १ वर्ष देखि अटो चलाउँछन् । पहिले सफारी किनेका उनले पछि सफारी वेचेर अटो किने । सहज फाइनान्सको सुविधा बढेपछि पथरी क्षेत्रका युवाको रुचि अटोमा बढेको हो । विभिन्न सहकारी र वैंकले अटो खरिद गर्न सहजताका साथ ऋण उपलव्ध गराएका छन् । महिनाको १० देखी १५ हजारसम्मको किस्ता हुने र सो किस्ता तिर्ने कमाई अटोले नै गर्ने भएपछि पथरीमा पछिल्लो समय अटोको संख्यामा पनि वृद्धि भएको हो ।

अटो र सिटी सफारीले यात्रुलाई पनि सजिलो बनाएको छ । मोक्तानका अनुसार घरमै पुगेर यात्रु बोकेर गन्तव्यसम्म पुर्याईदिने भएका कारण यात्रुलाई सजिलो छ, त्यसका चालकको आन्दानी पनि राम्रो छ । पहिले पथरीमा रातीको समयमा कोहि यात्रु उत्रिए गन्तव्यमा पुग्न गाह्रो हुने गरेको भएपनि अहिले अटोहरुले जुनसुकै समयमा पनि सेवा दिने गरेका कारण सजिलो भएको भुल्के मोरङ्ग यातायात प्रालिका अध्यक्ष पुर्ण कार्की बताउँछन् । कार्कीकै अग्रसरतामा पथरीमा टेम्पु तथा सफारी चालकहरुले संयुक्त रुपमा कम्पनी नै दर्ता गरेका छन् । यो कम्पनीमा मात्रै १ सय १५ वटा अटो दर्ता भएका छन् । पथरीमा नै सुनाखरी अटो प्रालि रहेको छ जसमा २ सय ५० अटो तथा सफारी आवद्ध भएको प्रालीका सचिव रविन थुलुङ्गले जानकारी दिए ।

समस्या पनि नभएको होइन । जिर्ण सडकका कारण सफारी तथा अटो सञ्चालनमा समस्या रहेको यसका चालकहरु बताउँछन । कतिपय अवस्थामा सडककै कारण दुर्घटना हुने र सवारीमा क्षती पुग्ने गरेको छ अटो सञ्चालक मोक्तानले बताए ।

परिवारसंगै बसेर विदेशमा हुने जति कमाइ स्वदेशमै हुने र स्वरोजगारको भरपर्दो विकल्प अटो भएपछि पछिल्लो समय यो क्षेत्रका युवाको आकर्षण अटो र सफारी सञ्चालनमा भएको छ । ट्राफिकबाट वेलावेलामा पाइने झन्झट वाहेक खासै समस्या पनि नरहेको उनीहरु वताउँछन् । बैदेशिक रोजगारबाट फर्केकाहरुको साझा बुझाई छ काम गर्नेलाई स्वदेशमा नै उत्तिकै अवसर छ । उनीहरु भन्छन्- भो अव त विदेश नजाने ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्