-दीपक एम.सी.
साहित्य समाजको दर्पण हो । गीत संगीत अझ त्यसमा पनि लोक गीत त झन आम जनताले बुझ्ने भाषा, शैलीमा तयार पारिने गीत हो । अनि कसरी समाजमा घटेका घट्नाहरुनाट टाढा रहन सक्छन् ? जनआन्दोलन, प्रजातन्त्र स्थापना, दरवारहत्या काण्ड, गणतन्त्र स्थापना, भुकम्प कुन पक्ष छुटेको छ गीत संगीतमा । साहित्य आलङ्कारीक हुनुपर्छ। साहित्यमा ब्यञ्जना र लक्षणाको प्रयोग हुनुपर्छ। ब्यक्ति भन्दा पनि प्रवृतिलाई इङ्कित गरेर लेखिनु पर्छ ।
पशुपति शर्माको गीतमा “नेपालमा मात्रै लुट्न पाइन्छ” भन्ने सन्देश व्यंग्यात्मक हिसाबले ठिकै भएता पनि यसले अन्तर्राष्ट्रिय जगतमा कस्तो प्रभाव पार्छ? बिचारणीय छ । केही शव्द चयनमा शर्मा लरबराएको उनले नै स्वीकार गरेका छन् । “स्वर्ग जस्तो देशमा यमराजको शासन” “डेढ अर्वको हेलिकप्टर चढ्छिन राष्ट्रपति” जस्ता शव्दका सट्टामा साङ्केतिक शव्द प्रयोग गर्न सकेको भए अझ राम्रो हुन्थ्यो । कार्यकर्तालाई “कुकुर” शव्द प्रयोग पनि बिवादित बन्यो। कार्यकर्तालाई यो शव्द साह्रै बिझायो । नेपालको हकमा अधिकांश (सबै हैन) कार्यकर्ता अन्धभक्त भएर कुनै राजनीति दलको पछि लाग्ने गरेको देखिन्छ। आफू सम्बद्ध दलको समालोचनात्मक हिसाबले समीक्षा गरेको पाइदैन। युवाहरूलाई परिवर्तनको संबाहक मानिन्छ। देशको जे जति परिवर्तन भए त्यसमा युवाको उल्लेखनीय भुमिका छ। त्यसको साथ साथै देशमा भएका नकारात्मक पक्षमा पनि उनीहरूको हात छ। आफ्नो नेताको राम्रो पक्षलाई राम्रो र नराम्रोलाई नराम्रो किन भन्न नसक्ने ? नेताले देश बिगारे (परिवर्तन र बिकास पनि उनीहरूको भुमिका छ) भन्दै गर्दा त्यसमा युवाको पनि भुमिका छ। “आफ्नो गोरुका बाह्रै टक्का” भने जस्तो आफू सम्बद्ध दलको नेताले जे गरेपनी राम्रो देख्ने । अनि अरु कुनै दलको नेताले राम्रो काम गर्दा पनि नराम्रो नै भन्नू पर्ने। यो प्रवृत्तिबाट कार्यकर्ताहरु बिशेष गरि युवा माथी उठ्नु अनिवार्य छ।

“कुकुर”  शव्द प्रयोग ठिक भएन भने पनि युवा संघले आफ्नो सामाजिक सञ्जालको पेजमा प्रयोग गरिएको धम्कीपुर्ण भाषा ठिक हो भन्न सकिने अवस्था छैन। सकारात्मक हिसाबले व्यंग्य गर्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो। तर नकारात्मक तवरले पनि सकारात्मक चिन्तन सहित लेखिएको देखिन्छ गीत। नेपालमा लुट्न पाइन्छ, लुट्नु पर्छ भन्ने आशय चाहिँ सारमा हैन। नेपालको अराजकता र भ्रष्टाचारको वर्तमान अवस्था चित्रित गर्न खोजिएको हो ।

Advertisements

त्यसो त शर्माको यस अघिका अन्य गीतहरु पनि व्यंग्यात्मक रहेको पाइन्छ। “हामी नेपाली, के को स्वाभिमानी” बोलको गीतमा पनि नेपाली स्वाभिमानी छैनन भने जसरी व्यंग्य पोखिएको छ। यस गीतलाई पनि किन नेपाली स्वाभिमानी छैनन,
किन स्वाभिमानी हैनन, किन भक्ती थापा, अमर सिंह थापा आदिलाई अपमान गरेको भनेर बिबाद गर्ने त? यस्तै अर्को गीत “किरा परोस्, हैजा टिपी लैजा” बोलको गीतमा बिद्युत प्राधिकरण प्रमुखलाई व्यंग्यात्मक शैलीमा लोडसेडिङको कारक
तत्व मानिएको देखिन्छ। यो गीतलाई पनि बिबादास्पद गराउने त ? समग्रमा शर्माले आफ्नो गीतमा आम जनताले महसुस गरेको कुरालाई नै चित्रित गरेका हुन्छन्। त्यसैले त उनका गीत लोकप्रिय बन्दछन्।

Advertisements

शर्माको यस गीतमा देशमा भएका विभिन्न बिसङ्गती, अराजकता र भ्रष्टाचारलाई समेटिएको छ। शिक्षा, स्वास्थ्य, निजामतीमा हुने भ्रष्टाचार, ३३ किलो सुन प्रकरण, वाइड बडी विमान प्रकरण, पुस्तौंदेखि नभएको बिकास, ठेकेदारले काम गर्ने शैली जस्ता पक्षहरुलाई उजागर गरिएको छ गीतमा। यदि कार्यकर्तामाथिको व्यंग्यलाई लिएर गायकलाई विवादमा तान्ने हो भने, अरु पक्षले पनि त त्यसै गर्न सक्ने भए त। के सबै शिक्षकले बोर्डिङमै पढाउछन् त ? के सबै डाक्टरले उपचार क्लिनिकमै गर्छन् त? उनीहरूले किन यो गीतको विरुद्धमा आवाज उठाएनन् त ? देशमा हुने बिभिन्न घटना परिघटनालाई किन राजनीतिकरण गरिन्छ ? निर्मला बलात्कार तथा हत्या काण्ड, डाक्टर के. सी. को अनशन हुदाहुदै शर्माको गीत समेत। सत्ता पक्षले यो हाम्रै विरुद्धमा लेखिएको भन्नै पर्ने अनि प्रतिपक्षले हाम्रै लागि हाम्रै पक्षमा लेखिएको भनी जोडतोडले उठाउनै पर्ने । यो कस्तो राजनीति हो ? एउटा कलाकारले स्वतन्त्र रूपमा गीत सिर्जना गर्दा पनि उसलाई राजनीतिक लेप लाग्ने! उसले म स्वतन्त्र हु भन्दै हिड्नुपर्ने ! उसले हुदाहुदै आफ्ना बुवा, आमा, हजुरबुबा, हजुरआमाले समर्थन गर्ने राजनीतिक दलको बारेमा स्पष्टीकरण दिनै हिड्नुपर्ने! यस्तो परिस्थिति देख्दा नेपालमा राजनीति र राजनीतिक चेतनाको तीब्र बिकास भएको तर हुनुपर्ने र छुट्नै नहुने राजनीतिक संस्कारको बिकास नभएको देखिन्छ। यस्तै प्रवृत्तिका कारण यो गीत पनि बिबादास्पद बनेको हो।

(एम. सी. गौमुखी मा.वि., प्युठानका शिक्षक हुन )

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्