कालिकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ। रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो। गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ। कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो। गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए। उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ।’ सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रित भएपछि गाउँले त्रसित भएका छन्। २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् भन्ने खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्