‘भाउजूको काम अस्थायी रुपमा चलाइदेऊ न यार !’ यसो भन्नेलाई केटीले ‘नाइँ’, ‘हुन्न’ भन्दाभन्दै ‘ मलाई तिमीसँग …मन छ, बाँकी जान्दिन…’ भन्दै जिद्धी गर्ने नेकपाका एकजना ‘राम्रै’ कार्यकर्ता, प्रदेश उपसभामुखकै पिएको म्यासेञ्जर कन्भरसेसन  फेला परेको छ ।

Advertisements

यस्तो यातनापूर्ण डिमाण्डकै फलस्वरुप हुनुपर्छ, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका अंगरक्षक दुई–तीन महिना नपुग्दै फेरिने गरेको । किनभने, प्रहरीले महिलाका लागि महिलालाई नै अंगरक्षक खटाउँछ । तर, ती महिला सुरक्षाकर्मी भिआइपीका पिएबाटै आउने ‘आज साँझ मिलाऊ है, एक दिनलाई फरक पर्दैन, एक घण्टा मात्रै, बिरामी भए हस्पिटल छँदैछ, मजा लिने हो’ जस्ता यौन प्रस्तावबाट आतंकित भएपछि बसुन् पनि कसरी ? यसप्रकार उपसभामुख निर्वाचित भएको एक वर्षमा पाँच अंगरक्षक परिवर्तन भइसके । दार्चुला घर भएका स्वकीय सचिव हरिश भट्टले फोन र फेसबुक म्यासेञ्जरबाट आफ्नो इच्छा महिला प्रहरीलाई बताउने गरेका छन् ।

Advertisements

यौनकर्मीभन्दा तल्लो तहमा उत्रिएर सुरक्षाकर्मी महिलालाई प्रस्ताव राख्ने गरिएको पीडितले आफ्नो युनिटमा सुनाएपछि उनीहरुलाई बदली गरिँदै आएको छ । ती अंगरक्षकलाई घरायसी काममा समेत लगाउने गरिएको उजुरी छ । धनगढीस्थित उपसभामुखको निवासमा कहिलेकाँही नेकपाका नेता दीर्घ सोडारी र गणेश ठगुन्ना पनि पुग्ने गरेका छन् । उनीहरु चाहिँ पार्टी कामको सिलसिलामा सरसल्लाहका लागि जाने गरेको बताउँछन् । पीडितले पनि सभामुखका पिएबाहेक अरुको बारेमा केही गुनासो गरेका छैनन् ।

भनिन्छ, कम्युनिष्टहरु फलामे अनुशासनमा बाँधिएका हुन्छन् तर अचेल उनीहरुमै डरलाग्दो यौन विचलन पाइन्छ । एक वर्षमा  एउटी महिलाले किन पाँच जना महिला अंगरक्षक फेर्छिन् ? उनकै पिएले किन यसरी मेरो प्यास बुझाइदेऊ भनेर कसैकी पत्नी, छोरी र बुहारीले लगाएको बर्दीलाई यौनकर्मीको रुपमा दुरुपयोग गर्न तम्सन्छन् ? प्रहरीको तल्लो दर्जामा जागिर खाने गरिबका चेलीले सरुवा जोगाउन कमरेडहरुको यौन शोषणको शिकार हुनैपर्ने हो ? ओली सरकारको गृह प्रशासन, बादल कमरेड, आईजीपी सर्वेन्द्र खनालको के छ यस सम्बन्धी धारणा ?

-जनआस्था साप्ताहिकबाट

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्