गणेश आचार्य
दाङ । आज असार १५ । अर्थात किसानले मानो छरेर मुरी उब्जाउने दिन । आजको दिनलाई राज्यले उत्सवको रुपमा बनाउँछ । उत्सव मनाउने सिलशीलामा तुलसीपुर उपमहानगरपालिकाले आज वडा नम्वर १५ कनज्वारमा १६ औँ धान दिवस मनायो । तर,त्यहाँका किसानमा भने कुनै उत्साह थिएन । धान दिवस मनाउनैका लागि टाढाको खोलामा मोटर लगाएर बाँझो खेतको बीचमा कर्मकान्डीरुपमा धान दिवस मनाइयो ।
चारैतिर खेत बाँझैँ छन् । तर, बिचको भागमा ‘दशवटा गरा’मा धान रोपेर आकाशबाट तुलसीपुर उपमहानगरपालिकाले यो दिवश मनायो । उपमहानगरपालिकाले कर्मकान्डी रुपमा धान दिवस मनाइरहँदा वरीपरीको सुख्खा खेत र किसानले भने राज्यलाई गिज्याइरहेका छन् । ‘ह्याँ काँ पानी हुनु बावु । तलैको खोलाबाट कार्यक्रम गर्न मोटरले पानी ल्याए हो ।’ स्थानीय किसान खिमा चलाउनेले निराश प्रतिप्रश्न गर्दै भनिन्,‘पानी भया भए त हामी के यस्तै बस्दोहम र ?’
धान दिवस मनाइएको क्षेत्रमा सिचाइको व्यवस्था नहुँदा किसान फुर्सदिला छन् भने खेत बाँधै । यसअघी राखेको ब्याड खेतमै सुक्न थालिसक्यो । तर,सिचाईको अभावले रापाई भने हुन सकेको छैन् । जसका कारण किसान बेचैन छन् । ‘सिचाईको व्यवस्था नहुँदा धानको ब्याड सुक्न लागिसक्यो ।’किसान एकराज रैदासले भने,‘कार्यक्रम गर्न दशवटा गरामा धान रोपेर हुन्छ र ?’
खेतमा सिचाईको व्यवस्था नहुँदा किसान चिन्तित छन् । जनताको अविभावकत्व ग्रहण गरेको स्थानीय सरकार भने किसानका समस्या चाँडै हल गर्ने भन्दा पनि महत्वाकांक्षी योजना बनाउनमै व्यस्त छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमितिर भनेँ झैँ योजना पनि कस्तो भन्नुस् न ? छिमेकी जिल्ला रोल्पाको माडी खोलाको पानी तुलसीपुर ल्याएर सिचाई गर्ने रे । ‘रोल्पाबाट माडीको पानी ल्याएर यहाँ सिचाई गर्ने गर्ने योजना बनाएकाछौँ ।’तुलसीपुर उपमहानगरपालिका प्रमुख घणश्या पाण्डेले भने,‘त्यसकालागि बृहत दाङ आयोजनासँग सहकार्य गर्छौ ।’
यो योजनाको हालसम्म डिपिआर नै भएको छैन् । तर पनि स्थानीय सरकारले भने किसानलाई माडीको पानी ल्याउने भन्दै झुक्याइरहेको छ ।

Advertisements

 

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्