कपिलवस्तु — धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब बढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।

Advertisements
राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमा केही दिन काम गरे । एजेन्टले भनेअनुसारको तलब पाएनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मार्‍यो, उनी छाँगाबाट खसेझैं भए ।

Advertisements
कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगिएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् । चिन्ताले घर जान सकिरहेका छैनन् । ‘के मुख लगाएर जाने,’ उनले भने, ‘भएको जागिर पनि छैन । समस्यामा छु ।’ अहिले उनी कृष्णनगरमा डेरा लिएर बसिरहेका छन् । उनीजस्तै सुर्खेतकी नन्दा परियार अलपत्र छिन् ।

उनलाई पनि मासिक ४० हजारभन्दा बढी कमाइ हुने प्रलोभन दिइएको थियो । ‘धेरै नै कन्भिन्स गरिएको थियो,’ उनले भनिन्, ‘परिवारको भलो हुन्छ ठानेँ, अहिले सम्पत्ति गुमाएँ ।’ गहना बेचेर ४ लाख र सरसापट गरेर ७ लाख रुपैयाँ नेटवर्किङ कम्पनीलाई बुझाएको उनले बताइन् । कम्पनीमा गएर काम पनि गरिन् । ‘काममा त्यत्ति चित्त बुझिरहेको थिएन,’ उनले भनिन्, ‘जब सञ्चालक पक्राउ परेको थाहा पाएँ, मेरो होस उड्यो ।’ उनले थपिन्, ‘घरमा के भनेर जवाफ दिने ?’ न्यायका लागि उनी इप्रका कृष्णनगर धाइरहेकी छन् ।

छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा ‘एमस्टेप प्रोग्रेसिव प्रालि’ को सदस्य बनेर उनीहरूजस्तै ३ सय ५० युवा ठगिएका छन् । कम्पनीले सञ्चालन गरेको नेटवर्किङ व्यवसायमार्फत धेरै नेपाली ठगिएका हुन् । प्रारम्भिक रूपमा उनीहरूबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ ।

प्रहरीका अनुसार मुख्य सञ्चालक रौतहटका अमित चौधरी र धादिङका कान्छा लामा घिसिङ भनिने अभिराज लामा हुन् । उनीहरूले सिर्जनशील र छिट्टै प्रलोभनमा पार्न सक्ने व्यक्ति खोजेर परिचालन गर्थे । त्यस्ता एजेन्टलाई राम्रो पारिश्रमिक दिन्थे ।

एजेन्टले चिनेका र विभिन्न माध्यमबाट सम्पर्कमा आएका युवालाई आकर्षित गर्थे । कतिपयलाई घरमै बसेर ३० देखि ४० हजार रुपैयाँ कमाइ हुने भन्दै फेसबुकबाट विज्ञापन गर्थे । त्यसरी धेरैजना सम्पर्कमा आउँथे । उनीहरूलाई परामर्श गरी आकर्षित गर्थे ।

नेपालमा नेटवर्किङ व्यवसाय गैरकानुनी भएकाले सञ्चालकले भारतीय भूमि प्रयोग गर्दै आएका छन् । कम्पनीले पिरामिड शैलीमा सदस्य बनाउने गरेको थियो । पीडितका अनुसार सुरुमा एक हजार रुपैयाँ तिरेर फारम भर्नुपर्थ्यो । त्यसपछि १५ हजार रुपैयाँ तिरेपछि सदस्यता पाइन्थ्यो । सदस्य बनेपछि पचपेडवामा ४ दिनको आवासीय तालिम हुन्थ्यो । त्यहाँ सदस्यलाई कम्पनीका लाभबारे सिकाइन्थ्यो ।

एक जनाले ५ जना सदस्य बनाउनुपर्थ्यो । ती ५ मध्ये एकजनाले फेरि ५ सदस्य बनाउनुपर्थ्यो । यसरी संख्या बढ्दै जान्थ्यो । सदस्य बढाउँदै गए पद बढुवा गर्ने बताइएको थियो । थोरै पारिश्रमिक थपिन्थ्यो । कम्पनीले सदस्यबाट विभिन्न औषधिजन्य र घरायसी सामग्री बिक्री गर्थ्यो । सदस्यले सामान खरिद गर्नुपर्थ्यो ।

बिक्रीबापत २५ प्रतिशतसम्म कमिसन मिल्थ्यो । धेरै सदस्य बनाएर बढुवा हुन र सामान बेचेर कमिसन पाउने लोभमा सदस्यले ऋण खोजेर, गरगहना र अचल सम्पत्ति बेचेर लगानी गर्थे । ‘उनीहरूबाट पाउनेभन्दा हामीले दिने रकम बढी हुन्थ्यो,’ मुगुका राजेश डागरले भने, ‘पछिपछि होला भन्ने लोभमा लगानी गर्दै गइयो, फँसियो ।’

सीमावर्ती नेपाली बजार कृष्णनगरबाट १७ किमि दूरीमा पचपेडवा बजार छ । ग्रामीण बजार भएकाले त्यहाँ कसैको ध्यान हुन्थेन । यहाँ सीमा नजिक भएकाले आउजाउ सहज हुन्थ्यो । मुलुकका पूर्वदेखि पश्चिम पहाड र हिमाली जिल्लालाई उनीहरूले लक्ष्य बनाएको देखिन्छ । विभिन्न माध्यमबाट सम्पर्कमा आउनेलाई रोजगारीको तालिम लिन रूपन्देहीको बुटवल बोलाउँथे ।

बुटवल पुगेपछि कार्यालय कृष्णनगर सरेको बताउँथे । त्यसपछि विभिन्न प्रलोभनमा पचपेडवा ल्याइन्थ्यो । यहाँ उनीहरूले दुई घर भाडामा लिएका थिए । तीनतले घरमा कार्यालय र तालिम सञ्चालन गर्थे । दुई तलाको घरलाई होस्टल बनाएका थिए । खानपान र बसाइँ राम्रो थियो ।

तालिम दिन आउनेजाने क्रम चलिरहने हुँदा दैनिक ४०/५० जना हुन्थे । नेपालीका कारण पचपेडवाको व्यापार फस्टाएको थियो । बजारको रौनक फेरिएको थियो । बढीमा ३०/४० हजार भारतीय रुपैयाँ भाडा पर्ने घरलाई नेटवर्किङ व्यवसायका नाममा ठगी धन्दा गर्नेले ९५ हजार रुपैयाँ तिर्दै आएको खुलेको छ । भाडा पाएपछि घरबेटीले सहयोग गर्दै आएका थिए ।

गत फागुन ३ मा ओखलढुंगाको मेलुङ र सुनकोसी गाउँपालिकाबाट दुई युवती तालिम लिन कृष्णनगर पुगे । पहिले बुटवल भनियो, पछि कृष्णनगर बोलाइयो । उनीहरूलाई ‘रिसिभ’ गर्न मकर तामाङ आए । सीमा पार गर्ने क्रममा शान्ति पुनःस्थापना गृहका स्वयंसेवकले सोधपुछ गरे । कुरा बाझिएपछि युवतीलाई प्रहरीको जिम्मा लगाइयो । त्यतिन्जेल एउटीले ३५ र अर्कीले ४० हजार रुपैयाँ बुझाइसकेका थिए ।

तीनैजना पक्राउ परे । युवतीले ठगिएको प्रमाण दिएर मुद्दा दर्ता गर्न आग्रह गरे । प्रहरीले कारबाहीको साटो तामाङद्वयलाई बाटो खर्चबापत १३ हजार भराएर मिलापत्र गरी पठायो । गत चैत २७ मा सीएमए पढ्दै गरेका रोल्पाका दुई युवती कृष्णनगर आए । उनीहरूलाई लिन अम्बरबहादुर र सविन सार्की आएका थिए । सीमापार गर्ने क्रममा गृहले सोधपुछ गर्‍यो । रोजगारीका लागि तालिम लिन आएको भनेपछि चारै जनालाई प्रहरीमा बुझाइयो ।

युवतीले केही रकम बुझाइसकेका थिए । ठगिएको थाहा पाएपछि प्रहरीमा जाहेरी गर्न खोजे । प्रहरीले लिन मानेन्, सम्झाइबुझाइ पठायो । त्यसबेला सूर्य बोगटी प्रहरी निरीक्षक थिए । प्रशस्त प्रमाण हुँदाहुँदै प्रहरीले सम्झाइबुझाइ पठाएको शान्ति पुनःस्थापना गृहका संयोजक भूमिराज भट्टराईले बताए ।

यसरी पक्राउ परे

गत असार २५ मा दाङका खुमा पुन, चमेली घर्ती, सीमा परियार र हेमा बमरेलीले कृष्णनगरबाट सीमा पार गर्न खोज्दा गृहले केरकार गर्‍र्यो । उनीहरूले गोरखपुर जाने बताए । उनीहरूलाई लिन बुटवलका क्षितिज खरेल आएका थिए । ती सबैलाई गृहले प्रहरीमा बुझायो । सोधपुछका क्रममा आफू ठगिएको थाहा पाएर उजरी दर्ता गराए । प्रमाण पुगेपछि पचपेडवाबाट अन्य नेपालीलाई उद्धार गर्ने योजना बन्यो ।

प्रहरी निरीक्षक प्रताप पौडेलले भारतीय प्रहरीसँग सहयोग माग्दा चासो दिएनन् । लगत्तै उनी एक भारतीय पत्रकार र अधिकारकर्मीसहित सदस्य बन्ने भन्दै पहचपेडवा पुगे । आफूहरूसँग धेरै ग्राहक रहेको भन्दै ३/४ दिनपछि फर्केर आउने बताए । त्यहाँको वस्तुस्थिति र अवस्थाबारे रेकी गरे । तेस्रो दिन पौडेलले भारतीय नम्बरको गाडी लिएर मुख्य ३ युवक र २ युवतीलाई पक्राउ गरेर ल्याए । ‘४ जना गएका थियौं,’ दैनिक सहाराका पत्रकार अजय गुप्ताले भने, ‘अघिल्लो दिनसँगै बैठकमा बसेकालाई पक्राउ गरेर ल्यायौं ।’ ३/४ जना भागेको उनले बताए । त्यसपछि पक्राउ परेकालाई भेट्न आएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

सबैलाई नेपाल बोलाएर पक्राउ गरेको प्रहरी निरीक्षक पौडेलले बताए । ‘ठूलो सञ्जाल पक्राउ गर्दा धेरै झमेला हुन्छ । प्रक्रिया पुर्‍याउन गाह्रो,’ उनले भने, पक्राउ परेकाविरुद्ध मुद्दा दायर भएपछि प्रहरीमा ४१ पीडितले क्षतिपूर्ति लागि निवेदन दिएका छन् । ठगिने इलाम, जुम्ला, कालीकोट, अछाम, बर्दिया, प्यूठान, मुगु, दैलेख र कैलालीका छन् । आफू ठगिएको भन्दै २ सयजना भन्दा बढी सम्पर्कमा आएको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए ।

‘अहिलेसम्म १ करोड ३२ लाख ५१ हजार संकलन गरेको प्रमाण संकलन भइसके,’ उनले भने । पचपेडवाबाट मात्रै ३ सय ५० सदस्य बनेका छन् । पचपेडवामा १३ महिनादेखि उनीहरूले नेटवर्किङको ठगी धन्दा चलाइरहेका थिए । कार्यालय भनिएको भवनमा भारतमा दर्ता भएको र आईएसओ मान्यता प्राप्त संस्था भन्दै एमस्टेपको बोर्ड थियो ।

व्यक्तित्व विकास, आत्मनिर्भर, कम्प्युटर र व्यावसायिक तालिम प्रदान गरिने सूचनाबोर्डमा थियो । यसअघि उनीहरूले बनारसमा एभरेस्ट इन्टरनेसन संस्था खोलेर यस्तै गरेको खुलेको छ । त्यसअघि फ्युचर मेकरको नामबाट पनि ठगी गरेको खुलेको डीएसपी देवेन्द्र पाण्डेले बताए । ५ वर्षदेखि ठगी धन्दा गर्दै आएको समूहमा पक्राउ परेकाहरूबाहेक पनि संलग्नबारे खोजी भइरहेको छ ।

विभिन्न स्थानबाट पक्राउ परेकामा मुख्य सञ्चालकहरू र तिनका एजेन्टहरू छन् । रौतहट चन्द्रपुर–११ का मुकेश राउत, दैलेख नौमुले–७ का कर्ण सलामीमगर, नवलपरासीको सुनवल–२ का अशोक अधिकारी, झापाको दमक–३ का खगेन्द्र निरौला, सप्तरीको राजविराज–१ का मिथलेश यादव र त्यहीँकी मन्जुला राई पक्राउ परेका छन् ।

बाँकेको कोहलपुर–३ का हेमराज थापा, रामेछाप मन्थली–१ का सुभाष बस्नेत र धादिङ सिद्धिलेखा–२ का दीपा पुरी, रोल्पा सुनछहरी–५ का क्षितिज खरेल र सप्तरी राजविराज–१ कमलेश यादव पनि समातिएका छन् । पक्राउ परेकामध्ये १० एमस्टेप्सका र एकजना फ्युचर मेकरका एजेन्ट रहेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा यसका मुख्य सञ्चालक रौतहटका अमित चौधरी र धादिङका कान्छा लामा घिसिङ भन्ने अभिराज तामाङ काठमाडौंको तीनकुनेबाट पक्राउ परेको प्रहरीले जनाएको छ । दुवैलाई जिल्ला ल्याइएको छ । सबैविरुद्ध ठगी मुद्दा चलाइएको छ । आरोपीमध्ये ५ जना फरारको सूचीमा छन् ।
कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्