काठमाडौ । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् ।

Advertisements

बैठक सुरु हुनासाथ दुवै दलका सांसद उठेर नाराबाजी गरेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुवै दलका सांसदहरुले रोस्ट्रम घेराउ गरे । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै झन्डै ४५ मिनेट नाराबाजी गरे ।

Advertisements

दुई दलको नाराबाजी र अवरोध नगर्न पटक-पटक सभामुख कृष्णबहादुर महराले अनुरोध गरेका थिए । उनले अवरोध हटाई छलफलको वातावरण बनाउन आग्रह गरिरहेका थिए । उनले संसद अवरोध भएपछि छलफल नहुने र छलफल नभएपछि संसदीय सर्वोच्चता कायम नहुने बताएका थिए । ‘थाक्नुभयो होला, आसनमा बस्नुहोला,’  सभामुख महराले भने ।

तर, कांग्रेस र राजपाका सांसदहरुले मानेनन् । प्रतिपक्ष दलका सांसदहरुले रोस्ट्रम घेरेर नाराबाजी गर्दै संसद अवरुद्ध गरेपछि सभामुख महराले प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे ।

सांसदहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘मानवअधिकार हनन गर्न पाईदैन,’ ‘संसदीय सर्वोच्चता कायम गर’, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर’ लगायत नाराबाजी गर्दै रोस्ट्रम घेरेका थिए ।

गत असार ५ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका थिए । प्रहरीले पौडेल दोहोरो भिडन्तका क्रममा मारिएको बतायो भने स्थानीयले प्रहरीले पक्राउ गरेपछि हत्या गरेको आरोप लगाएका छन् । यस्तै, असार १५ मा प्रहरीकै गोलीबाट स्थानीय सरोजनारायण सिंहको मृत्यु भएको थियो । कांग्रेस र राजपाले यी दुवै घटनाको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राख्दै सोमबारको संसद बैठक अवरुद्ध बनाएका हुन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्