सुरुमा तपाईंको ‘चाइल्ड साइकोलोजिस्ट’ बन्ने सपना थियो। त्यो सपनालाई मोडेर कसरी फिल्मी क्षेत्रमा रमाउन सक्नुभयो?
मेरो सुरुमा फिल्म क्षेत्रप्रति नकारात्मक धारणा थियो। तर, ‘सानो संसार’ गरिसकेपछि त्यो धारणा हरायो। त्यसपछि ‘मेरो एउटा साथी छ’ले राम्रो रेस्पोन्स पायो। सिने क्षेत्रलाई पनि बुझ्ने अवसर पाएँ। त्यसपछि म यसैका लागि जन्मिएकी हुँ भन्ने भान भयो।

Advertisements

फिल्मी करियर सुरु गर्दा कुनै उचाइको कल्पना गर्नुभएको थियो?
म कुनै पनि काम गर्दा यहाँसम्म पुग्छु, त्यहाँसम्म पुग्छु भन्ने सोच राख्दिनँ। तर, म जहिल्यै यतिसम्म चाहिँ सोच्छु कि आजभन्दा भोलि मलाई राम्रो गर्नु छ। म त्यसमा कत्तिको सफल भएँ भन्ने कुरा त समय र परिस्थितिले थाहा हुने हो। तर, म यत्ति भन्न चाहन्छु कि व्यक्ति र कलाकारको रुपमा मलाई सधैं राम्रो गर्न मन लाग्छ र गर्छु पनि।

Advertisements

‘सानो संसार’ हुँदै ‘जाइरा’सम्म आइपुग्दा तपाईंको फिल्मी यात्राले एक दशक पार गरेको छ। यो समयलाई आफ्नो जीवनसँग जोडेर कसरी हेर्नुहुन्छ?
एकदमै रमाइलो यात्रा भयो जस्तो लाग्छ। ‘सानो संसार’मा काम गर्दा फिल्मको बारेमा केही पनि ज्ञान थिएन। आलोक दाइले सिकाउनु त भएको थियो तर मैले कुनै तालिम लिएकी थिएनँ। म एकदमै नर्मस थिएँ। मैले त्यसपछि जति फिल्म गरेँ त्यो नै मेरो स्कुलिङ भइदियो। फिल्ममा फरक निर्माता र कलाकारहरुसँग काम गरेँ। उहाँहरुको काम गर्ने तरिका र शैली सिक्न पाएँ। ‘जाइरा’सम्म आइपुग्दा व्यक्तिगत रुपमा म धेरै विकसित भएकोजस्तो लाग्छ।

तपाईंसँग मोडलिङ, नाटक र फिल्म क्षेत्रको अनुभव छ। यी तीन विद्यालाई अभिनयसँग जोडेर कसरी लिनुहुन्छ?
एउटा कलाकारका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको अभिनय नै हो। रंगमञ्चका हरेक क्षेत्रमा उसले अभिनयमार्फत आफूलाई सावित गर्नुपर्ने हुन्छ। त्यै पनि विशेषताका हिसाबले तीन पक्ष आफंैमा फरक पक्कै छन्। नाटकमा प्रत्यक्ष रुपमा दर्शकको प्रतिक्रिया अनुमान लगाउन सकिन्छ। ३ घण्टाको फिल्म एकै पटक खेलिरहेको महसुस हुन्छ। किनकि कट् भन्ने अप्सन नै हुँदैन। फिल्ममा कट्मार्फत आफूले चाहेअनुसार सुट लिन सकिन्छ। मोडलिङ पनि भिडियो बनाउने नै हो। तर, समय र जनशक्तिका हिसाबले फिल्मभन्दा फरक पाटो हो। प्रक्रिया भने फिल्मजस्तै हुन्छ। सबैको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व छ।

मौन (अपांग), क्लासिक (दृष्टिबिहीन), प्रसाद (गाउँले महिला) होस् या आउँदै गरेको फिल्म जाइरा (बक्सिङ खेलाडी) तपाईं आफ्ना प्रायः फिल्ममा एउटा जोखिम मोल्नुहुन्छ। यसरी भूमिकालाई जीवन्त बनाउने कला विकसित हुनुमा नाटकको भूमिका कत्तिको छ?
मैले फिल्ममा सिकेका कतिपय कुरा नाटकमा लागू गरेकी छु भने नाटकमा सिकेका कुरा फिल्ममा। एउटा कलाकारले दुवै ठाउँमा गर्नुपर्ने अभिनय हो, केवल माध्यम मात्र त फरक हो। यति भनिरहँदा मेरो कलाकारितामा निखारता ल्याउन नाटकले कुनै भूमिका खेलेन भन्न मिल्दैन। कसरी पात्रभित्र छिर्ने, त्यसमा गहिरोगरी कसरी डुब्ने भन्ने कुरा अवश्य पनि मैले नाटकबाट सिकेकी हुँ।

एउटा सफल फिल्मका लागि कलाकार शारीरिक, मानसिक र भावनात्मक रुपमा कत्तिको तयार हुनुपर्छ भन्ने लाग्छ?
यो कुरा एकदमै महत्वपूर्ण छ। भावनात्मक पक्ष कमजोर हुँदा जुन पात्रको रुपमा हामीले अभिनय गरेका छौँ त्यसलाई न्याय गर्न सक्दैनौँ। मानसिक रुपमा तपाईं ‘राइट सेट अप माइन्ड’मा हुनुहुन्न भने अभिनयको स्तर नै खस्कन्छ। शारीरिक रुपमा पनि मेहनत गर्नैपर्छ। आवश्यक परे पसिना पनि बगाउन तयार हुनुपर्छ। यी तीन कुराबिना कलाकारिताको अर्थ नै छैन।

तपाईंको सवालमा यी कुरा लागू भएका छन् त?
त्यसैले त मैले वर्षमा एउटा–दुईटामात्र फिल्म खेल्ने हो। फिल्मका लागि म यी तीन वटै कुरामा सबल हुनुपर्छ भन्ने लाग्छ। एउटा कलाकारको रुपमा आफूले कथालाई न्याय दिन गर्नुपर्ने सम्पूर्ण तयारीहरु मैले गरेकी हुन्छु। निर्माताले मलाई अभिनय गरेवापत पारिश्रमिक दिनुभएको छ भने मैले पनि त उहाँहरुलाई अभिनयमार्फत केही दिन सक्नुपर्यो भन्ने मलाई लाग्छ।

तपाईंलाई होहल्ला मन पर्दैन। स्वभाव पनि शान्त र भावुक खालको छ। यी कुराले अभिनयमा कत्तिको प्रभाव पार्छ?
मैले कुनै फिल्म खेल्नुअघि स्क्रिप्ट पढ्छु र त्यहाँ भएको पात्रमा आफूलाई देख्न सक्छु कि सक्दिन भनेर सोच्छु। त्यसपछि म भएको भए के गर्थेँ र त्यो पात्रले के गरिरहेको छ भनेर तुलना गर्छु। त्यसैले मैले हरेक कुरा फिल गर्नुपर्छ नत्र दर्शकले फिल्ममा महसुस गर्नुहुन्छ भन्ने मलाई लाग्छ।

एउटा अन्तर्वार्तामा मेरो जीवनमा घटेका घटनाहरुले मलाई खुसी बनाउँछ भन्नुभएको थियो। यसको लजिक के हो?
मैले खुसी बनाउँछ भन्दा पनि मेरो जीवनमा घटेका घटनाप्रति मलाई पछुताउनु छैन भनेको जस्तो लाग्छ। किनकि मैले भोगेको तनाबका कारण नै म आज यहाँ छुँ। मैले कतै कुनै चिज नछानेको भए, नगरेको भए म यहाँ पुग्दिनथेँ होला। त्यसैले विगतले गर्दा म रिग्रेट गर्दिनँ, भन्न खोजेकी हुँ।

तपाईं फिल्ममा खेलेबापत पारिश्रमिक सँगै कुनै एउटा देशको कपिराइट पनि लिनुहुन्छ। यसो गर्नुको कारण के हो?
मैले आफूले खेल्ने फिल्मलाई धेरै समय दिन्छु। प्रि–प्रडक्सनदेखि पोस्ट–प्रडक्सनसम्म फिल्ममा जोडिरहेकी हुन्छु। वर्षमा एउटा–दुईटा फिल्म गर्दा मैले चाहेको पारिश्रमिक पाउनु पनि पर्छ भन्ने लाग्छ। अर्कोतर्फ निर्माताहरुको मर्का पनि बुझिदिनुपर्यो। त्यसो हुनाले मैले यो बाटो अपनाएकी हुँ।

नेपाली फिल्मको स्तर माथि उठिरहेको छ। तर, एउटा अभिनेत्रीले मुख्य भूमिका नपाउने वा पाएको भूमिकालाई पनि न्याय गर्न नसक्ने समस्या देखिन्छ। किन होला?
यस्तो कुराहरुमा म त्यति गम्भीर छैन। मलाई सबैभन्दा महत्वपूर्ण कुरा फिल्म राम्रो हुनुपर्छ भन्ने लाग्छ। फिल्मको सेन्टरमा नायिका छ वा नायक भन्ने कुरा अर्को पक्ष हो। म आफैं पनि फिल्म गर्दा लिड रोल भनेर हेर्दिनँ। त्यसैले फिल्म महिला वा पुरुष केन्द्रितभन्दा पनि विषय केन्द्रित हुनुपर्र्छ। हरेक पात्रको राम्रो फिल्म बनाउनमा उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। हरेक पात्रले आफ्नो भूमिका निर्वाह गरेको खण्डमा त्यो नै कथाप्रतिको न्याय हो।

पुस्तक, संगीत र यात्रा, यी तीन चीज तपाईंको जीवनका महत्वपूर्ण पाटोजस्तै बनेका छन्। यी चीजप्रति तपाईंको प्रेम के हो?
मलाई मात्र नभएर यात्रा सबैका लागि महत्वपूर्ण छ जस्तो लाग्छ। नेपालमा ट्रेकिङ, हाइकिङ जाने, घुम्ने थुप्रै पर्यटकीय गन्तब्यहरु छन्। यात्राले माइन्ड फ्रेस हुन्छ। राम्रो सोचको विकास हुन्छ र आफूलाई पनि बुझ्ने मौका पाइन्छ। भीडमा बस्दा सधैं अरुको कुरा सुनिन्छ। आफूले आफूलाई चिन्ने मौका पाइँदैन। एकान्तले त्यो अवसर प्रदान गर्छ। म प्रायः एक्लै हुने भएकाले पुस्तक पढ्ने र संगीत सुन्ने गर्छु। संगीत त म उठेदेखि नसुत्दासम्म बजिरहेकै हुन्छ। संगीत सुन्दा यदि मैले कुनै काम गरिरहेकी छैन भने पुस्तक पढ्न रुचाउँछु। म सानैदेखि मनमा लागेका कुराहरु लेख्न रुचाउँथेँ। पाठ्यक्रमबाहेकका पुस्तकहरु पनि पढ्थेँ। अहिले पनि धेरैजसो आख्यानहरु पढ्छु।

तपाईं ‘स्ट्यान्ड अप कमेडी’ पनि फ्लो गर्नुहुन्छ। कमेडीले तपाईंमा पारेको प्रभाव के हो?
रमाइलोका लागि। फ्रेस हुनका लागि। आनन्दका लागि। मलाई त हेर्न एकदमै रमाइलो लाग्छ। मानिसलाई हँसाउनु भनेको निकै ठूलो कुरा हो। हाँस्नु पनि मानिसका लागि फाइदाजनक छ। दिनभरि तनाब बोकेको मानिस कमेडी भिडियो हेरेपछि साँझपख फ्रेस हुनसक्छ। मानिसको जीवनमा यति धेरै तनाबहरु हुन्छ, १०–१५ मिनेट कमेडी हरेर–सुनेर त्यो तनाब कम हुन्छ भने त्योभन्दा ठूलो अर्को कुरा के नै हुनसक्छ र?

तपाईंले फिल्म निर्माणमा हात हाल्नुभएको छ। आफ्नै बिजनेस पनि छ। दुवैमा लगानी गरेर रिस्क मोलेको जस्तो लाग्दैन?
नो रिस्क नो गेन भन्छ नि त। फिल्म भनेको हाम्रो क्रियसन हो, जुन सबैलाई मन पर्छ भन्ने छैन। तर, राम्रो बन्नु चाहिँ पर्यो भन्ने हो। हामीले राम्रो बनाउने प्रयास गर्ने हो बाँकी कुरा हलमा लागिसकेपछि दर्शकको हातमा हुन्छ। त्यसैले रिस्क छैन भनेर म भन्दिनँ। हामीले रिस्क लिएनौँ भने कसले लिने त?

बिजनेसमा पनि त्यस्तै हो। हाम्रो सेवा ग्राहकले मन पराउनुभयो भने राम्रो हुन्छ। मन परेन भने नराम्रो। तर, रिस्क नमोली जीवनमा सफल भइदैन।

तपाईं उचाईदेखि डराउने मान्छे। हालसालै सगरमाथाको ६ हजार १ सय १९ मिटर अग्लो चुचुरो ‘लोबुचे इस्ट पिक’ आरोहण गर्नुभयो। अनुभव कस्तो रह्यो?
म नर्भस थिएँ किनभने धेरै जना चढ्न नसकेर फर्किरहनुभएको थियो। तर, मलाई भने जसरी भए पनि चढ्छु भन्ने थियो। रातिमा चढ्ने भएकाले मलाई अलिकति आँट आयो। तर, एउटा विन्दुमा पुगेपछि एकपटक मेरो खुट्टा चिप्लिएर पछाडिपट्टी हेर्न पुगेँ। खुट्टा काम्न थाल्यो र म १० मिनेट थचक्क त्यहीँ बसेँ। अब सक्दिनँ कि भन्ने लागेको थियो। तर, हार मानिन्। चुचुरोमा पुग्दा उज्यालो भइसकेको थियो। बल्ल सास आयो। यो आरोहरण मलाई डरसँग भाग्ने होइन कि त्यसको सामना गर्नुपर्छ भन्ने कुरा सिकायो। अहिले मलाई उचाईदेखि त डर लाग्छ। तर, डर लागे पनि म सक्छुजस्तो लाग्छ।

पछिल्लो समय तपाईं अलि बढी खुल्न थाल्नुभएको छ। तपाईंको मुहारमा खुसी देखिन थालेको छ। के यो डिप्रेसनबाट बाहिर निस्किएको संकेत हो?
हो, अहिले म डिप्रेसनको औषधि खादिनँ। त्यसले गर्दा पनि एउटा आनन्द महसुस हुँदोरहेछ। औषधि खानुपर्छ भन्दा एकप्रकारको डर हुन्थ्यो मनमा। अहिले मन शान्त छ। एउटा कारण यो पनि हो। अर्को कुरा कामहरु पनि भइरहेको छ। राम्रै भइरहेको छ। त्यो पनि होला।

डिप्रेसनलाई लिएर तपाईंको आफ्नो भोगाई र बुझाई के हो?
हरेक व्यक्तिको आ–आफ्नो भोगाइ र बुझाइ हुँदोरहेछ। यो धेरै ठूलो कुरा नै होइन। जसरी तपाईंलाई प्रेसर हुन्छ, किड्नीमा स्टोन हुन्छ, यो पनि त्यस्तै हो। बिस्तारै निको हुँदै जान्छ। आत्मबल चाहिँ बलियो हुनपर्छ।

तपाईंमा कुनै समय आत्महत्याको मनसाय आयो कि आएन?
म साहसी नभएको भए अहिले तपाईंहरुको अगाडि हुँदैनथेँ होला किनकि डिप्रेसनका कारण एउटा विन्दुमा मेरो मनमा पनि आत्महत्याको कुरा खेलेको थियो। तर, मैले त्यो अवस्था त पार गरेँ। आफू बलियो भएर उभिने हो र मेरो यो अवस्था मेरै कारण ठिक हुन्छ, त्यसका लागि म तयार छु भनेर सोच्ने हो भने ठिक नहुने कुरै छैन।

डिप्रेसनबाट बाहिर आउनका लागि के–के गर्नुभयो?
मैले डाक्टरहरुको सल्लाह लिएँ। आफ्नो मनोबल बलियो बनाएँ। म आफ्नो लागि आफैं काम गर्छु भनेर अनुसन्धान गरेर अघि बढेँ। मनमा खेल्ने नकारात्मक भावहरु परिवर्तन गर्नका लागि कक्षाहरु लिएँ। त्यसपछि ममा परिवर्तन आउन थालेको हो। त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मबल नै हो।

अहिलेको युवा पुस्तामा धेरैले डिप्रेसनको सामना गरिरहेका छन्। उनीहरुलाई तपाईंको सुझाब के छ?
पहिले मलाई डिप्रेसन छ भनेर अनुभव गर्नुपर्यो। त्यसलाई स्वीकार गर्नुपर्यो। नजिकको व्यक्तिलाई मलाई यस्तो भइरहेको छ, मलाई सहयोग चाहियो भनेर आफ्नो समस्या भन्न सक्नुपर्छ। सबैलाई एउटै कारणले डिप्रेसन हुन्छ भन्ने हुँदैन। यसको कारण डाक्टरसँगको सहकार्यबाट पत्ता लगाउन सकिन्छ। त्यसका लागि सबैभन्दा पहिले तपाईं तयार हुनुपर्छ। यो कुनै रोग होइन, एउटा समस्या हो। यसबाट निस्कन नसक्ने भन्ने नै छैन। किनकि उदाहरणको रुपमा मै छु।

डिप्रेसनमा केन्द्रित रहेर सामाजिक सञ्जाल होस् या अन्य कुनै माध्यमबाट प्रश्न, जिज्ञासा वा प्रतिक्रिया कत्तिको आउँछन्?
आजभोलि मलाई धेरै मेसेजहरु युवाहरुबाट आउने गर्छ। दिदी म के गरुँ, मलाई यस्तो अनुभव भइरहेको छ, कुन डाक्टरकोमा जाँदा ठिक होला भन्नुहुन्छ। मलाई खुसी लाग्छ कि उहाँहरुले मसँग सहयोग मागिरहनुभएको छ। म डिप्रेसनबारे खुल्न चाहनुको कारण पनि यही हो। मलाई हेरेर अरु पनि खुल्न सकुन्, आफ्ना कुरा राख्न सकुन् भन्ने लाग्छ। म खुलेँ भनेँ नम्रतालाई पनि डिप्रेसन भएको रहेछ भनेर उहाँहरुले एक्लो अनुभव गर्नुहुँदैन नि। मैले आफ्नो कुरा कसैलाई राख्न सकेँ, उहाँहरुसँग अन्र्तक्रिया गर्न सकेँ र डाक्टरहरुको नम्बर उपलब्ध गराउने अवसर पाएँ भने त्यो कुरामा मैले गर्व गर्नुपर्छ।

तपाईं समाजशास्त्र, संस्कृति र आम सञ्चारको विद्यार्थी। कलाकारिताबाहेक आफ्नो कुनै सामाजिक उत्तरदायित्व पनि छ भन्ने लाग्छ कि लाग्दैन? छ भने कसरी निर्वाह गरिरहनुभएको छ?
आफ्नो देश र सामाजप्रति त हरेक नागरिकको उत्तिकै उत्तरदायित्व र भूमिका रहन्छ। मेरो कुरा गर्दा मैले आफ्नोतर्फबाट गरिरहेकी छु। मानसिक स्वास्थ्यका लागि कसरी चेतना अभिबृद्धि गर्ने भन्नेमा काम गरिरहेकी छु। बालबालिका शिक्षाका लागि पनि सहयोग गरिरहेकी छु।

धेरै वर्ष पहिले कुमार कान्छाले अस्पतालबाट सहयोगको अपिल गरेको भिडियो हेरेकी थिएँ। त्यसले मलाई निकै भावुक बनायो। त्यसपछि मैले कलाकारहरुलाई अनुरोध गरेर एउटा सांगीतिक कार्यक्रमको आयोजना गरेँ। त्यहाँबाट उठेको पैसा उहाँको छोराको खातामा हालिदिएँ। उहाँ धेरै समय त बाँच्नु भएन तर उहाँलाई केही सहयोग त भयो नि। आगामी दिनमा पनि म यी कुरालाई निरन्तरता दिन्छु। मलाई यो गरेँ, त्यो गरेँ भनेर भन्दै हिँड्न मन भने लाग्दैन। मैले गरेको जुन कुराले मलाई राति मज्जाको निद्रा लाग्छ म त्यही काम गर्छु।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्