पोखरा  । पोखरा महानगरपालिकाका वडा १८ अध्यक्षसहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

Advertisements

पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग र सिफारिस गरेको आरोपमा उनीहरूलाई शुक्रबार कास्की प्रहरीले पक्राउ गरेको हो। यसै घटनामा संलग्न अन्यल ८ जनालाई कास्की प्रहरीले केही दिनअघि नै पक्राउ गरिसकेको छ। वडा अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्चिकाधिकारी राजेन्द्र पौडेललाई शुक्रबार पक्राउ गरेको हो। तिब्बती शरणार्थीसँग विवाह गरेर गएकी नेपाली नागरिकका सन्तानलाई पोखरा सराङकोट १८ का लेखबहादुर थापाले छोरी बनाएर नागरिकता बनाएको आरोपमा उनीसहित ८ जनालाई कास्की प्रहरीले केही दिनअघि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

Advertisements

उनीहरू नागरिकता लिन झुटो कागजात तयार पार्ने र उनीहरूलाई सहयोग गर्ने व्यक्ति रहेका छन्। लेखबहादुरका दुई नातिनीहरूले फरकफरक मितिमा नागरिकता लिएका छन्। गएको जेठ २६ गते सरु आङ्बोले र असार ६ गते तासी आङ्मोले जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका थिए। नागरिकता लिने दुवै शरणार्थी लेखबहादुरकै हुन भनेर केही स्थानीयले सर्जिमनसमेत गरेका थिए। सर्जिमन मुचुल्का गरेका स्थानीयहरू  बेलबहादुर थापा, इमा थापामगर, सन्तोष थापामगर, ज्ञानबहादुर थापा क्षेत्री, कमल थापालाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। नागरिकता बनाउन अन्तिम सिफारिस गर्ने वडा अध्यक्ष बल्ल पक्राउ परेका हुन्। ‘अनुसन्धानकै क्रममा छौँ, उनीहरू तिब्बती हुन भन्ने अध्ययनले देखाएपछि नागरिकता रद्द भइसकेको छ,’ जिप्रका कास्कीका प्रहरी निरिक्षक गणेश सुबेदीले भने, ‘अनुसन्धान भइरहेको छ। सबै कानुनी दायरामा आउँछन्।’ पक्राउ परेकाहरूलाई झुटो विवरण पेस गरी नागरिकता लिएको शीर्षकको मुद्धामा कानुनी कारबाही हुनेछ।

लेखबहादुरकी छोरीले तिब्बती शरणार्थीसँग विवाह गरेकी हुन्। उनीबाट जन्मेका दुई छोरीलाई नेपाली नागरिकता दिएको खुलेको थियो।  उनीहरूलाई वंशजको नागरिकता दिलाउन लेखबहादुरले झुटो विवरण पेस गरेको पाइएको थियो। नातिनीहरूको नागरिकता बनाउन लेखबहादुरले सबै विवरणहरू झुटो बनाएको खुलासा भएको छ। सिफारिस पत्रमा नातिनीहरूको बाबु पनि लेखबहादुर नै उल्लेख गरिएको छ। त्यस्तै जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासी आङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ।

झुटो विवरणका आधारमा नागरिकता लिएको उजुरीमाथि कास्की प्रशासनले छानबिन थालेको थियो। लामो समयपछिको छानबिन र अध्ययनपछि लेखबहादुरले नातिनीहरूको नागरिकता बनाउन तयार पारेको कागजात सबै झुटो भएको पुष्टि भएको कास्की जिल्ला प्रशासनले जनाएको छ। पक्राउ परेकाहरूमाथी नागरिकता ऐन, २०६३ अनुसार कानुनी कारबाही अघि बढ्नेछ। उनीहरूको कसुर प्रमाणीत भए एक वर्षदेखि ५ वर्षसम्मको कैद सजाय वा ५० हजारदेखि एक लाख रुपैयाँसम्मको जरिवाना हुने छ। मुद्दाको किसिम हेरेर दुवै सजाय हुने प्रावधान पनि ऐनमा छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्