Advertisements

मैले पहिलोपटक बाबा रामदेव र उनको नाटकीय कलालाई सन् २००८ को उखर्माउलो साँझमा देखेकी थिएँ। कानपुरस्थित गंगा नदीमा झिलिमिली सिँगारिएको डुंगामा अनुयायी र आरामदायी पंखाद्वारा घेरिएका उनी अग्ला रकस्टारजस्तै देखिएका थिए। संयोगले कांग्रेससँग गहिरो सम्बन्ध भएका रामदेव कडा भाषणमार्फत विश्व हिन्दू परिषद् (भिएपी)को गंगा रक्षा आन्दोलन उद्घाटन गर्दै थिए।

Advertisements

मैले रामदेवलाई उनी बस्ने सहरको सरकारी गेस्टहाउससम्म पछ्याएँ। व्यापारी सुब्रत सहाराले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा गार्डबाट घेरिएका कुशल रणनीतिकार एवं सार्वजनिक वक्ता रामदेवले पत्रकारका प्रश्नको उत्तर दिन थाले। लाग्थ्यो, उनको अट्टहास र लामो सास आफू र संवाददाता दुवैप्रति लक्षित थियो। योग गुरुबाट स्वदेशी व्यापार बादशाह र त्यसबाट राजनीतिज्ञ बनिरहेका उनीसँग मैले पत्रकारिताको दूरी कायम राख्न सम्भव देखिनँ। मैले आफैँलाई उनीप्रति मोहित भएको पाएँ, आनन्द अनुभूत गरेँ। वास्तवमै रामदेव तपाईंहरूलाई उनीजस्तै बनाउन चाहन्थे, र तपाईंहरूले पनि त्यस्तै गर्नुभयो।

हरेकपटक मैले भेट्दा रामदेव मोहक, सांसारिक र आत्मालोचक लाग्थे। एक प्रभावशाली कथाकार रामदेवमा धेरै सफल राजनीतिज्ञको जस्तै आफूलाई निकट र परिचित देखाउने अद्भूत कला छ। मैले उनीसँग जतिसुकै समय बिताए पनि अलिकति पनि दाग लगाउने ठाउँ देखिनँ।

धेरै वर्षपछि रामदेवमाथि पुस्तक लेख्ने निर्णय गर्दा उनको सम्पूर्ण जीवनकथा, कमजोरी र क्षमताबारे उनकै मुखबाट भन्दा पनि प्रत्यक्षदर्शी र रामदेवको अस्वाभाविक सफलताका सारथीहरूबाट भनाउनुपर्ने थियो।

मैले सुरु गरेँ– रामदेवका पारिवारिक सदस्यहरू आमा गुलाबो देवी, दाइ देवदत्त यादव र काका जगदीश यादवसँगको कुराकानीबाट। गुरुकुलमा अध्ययन गर्दाताका रामदेवका जुनियर आचार्य अभयदेवदेखि उनका जीवनभरका सहायक आचार्य बालकृष्णसँग पनि गफ गरेँ। रामदेवले केही दर्जनलाई भेला पारेर योग शिविर चलाउँदादेखि उनलाई चिनेका हरिद्वारवासीहरूसँग अन्तर्वार्ता गरेँ। रामदेवसँग विभिन्न समयमा काम गर्ने व्यक्तिलाई भेटेँ। पतञ्जली आयुर्वेद लिमिटेड स्थापनापूर्व सन् २००२ देखि २००५ सम्म रामदेवका सहयोगी बनेका विपिन प्रधानदेखि पतञ्जलीको असाधारण उन्नति गराउने प्रमुख कार्यकारी अधिकृत एसके पात्रासम्मलाई मैले भेटेर कुराकानी गरेँ। रामदेवको जीवनकथा एकीकृत गर्न मैले ५२ व्यक्तिसँग बातचित गरेँ।

असन्तुष्ट र अप्रशन्न आफन्तमार्फत रामदेवको अतीतका उचित जानकारी पाइनेमा म पूर्णतः आशावादी थिएँ। किनकि कुरा काटिएकै कारण कतिको प्रसिद्धि पनि बढ्ने गर्छ। जब मैले रामदेवको सफलताको प्रशंसा गर्न उनको विगततर्फ नियाल्न थालेँ, एउटा एकदमै फरक प्रतिरूप प्रकट हुन थाल्यो, आकर्षक र आत्मीय रामदेवको चरित्र नाटकीय रूपमा त्रासदियुक्त देखिन पुग्यो।

रामदेवको पहिलो झगडा उनलाई योग सिकाउने पहिलो व्यक्ति करमवीर महाराजसँग भएको थियो। सुरुवाती दिनमा उनीहरू मुलुकभर योग शिविर गर्दै हिँड्थे, हरिद्वारमा पकाउने भाँडाकुँडा भाडामा लिई च्यवनप्रास बनाएर साइकलमा बेच्थे। अन्ततः उनीहरूले दिव्य योग मन्दिर ट्रस्टको स्थापना गरे। ट्रस्टमा करमवीर उपाध्यक्ष थिए। ट्रस्टअन्तर्गत उनीहरू योग शिविर चलाए र एउटा आयुर्वेदिक फार्मेसी स्थापना गरे। रामदेवसँग करमवीरको दुःखद बिदाइ भयो। सन् २००५ को मार्चमा करमवीर कसैलाई कुनै जानकारी नदिई गायब भए।

ट्रस्टलाई व्यावसायिक बनाउने विषयमा आदर्शवादी करमवीरसँग रामदेवको विवाद भएको थियो। ‘आदर्शवाद आफूसँग केही पनि नभएका बेला सजिलो हुन्छ, तपाईंसँग प्रसिद्धि, शक्ति र पैसा भएका बेला पनि त्यसलाई कायम राख्न सक्नुपर्छ, दुर्भाग्यवश उनीहरू (रामदेव र बालकृष्ण)लाई यसले परिवर्तन गरिरहेको छ,’ उनी भन्ने गर्थे।

करमवीरसँगको विवाद त यस्तै धेरै प्रवृत्तिको सुरुवातजस्तै देखियो। आफूले च्यानल लिएपछि सन् २००९ मा रामदेवले आस्था च्यानलका एक संस्थापक किरिट मेहतासँग विवाद गरे। किरिट तिनै व्यक्ति थिए, जसले आस्था च्यानलका माध्यमबाट रामदेवलाई सेलिब्रिटी योगगुरु बनाएका थिए। सन् २०१३ मा रामदेवका एकदमै प्रभावशाली प्रमुख कार्यकारी अधिकृत (सिइओ) एसके पात्रासँग उनको सम्बन्ध अमिलियो। कम्पनी कसरी चलाउने भन्ने विषयमा उनीहरूबीच विवाद भएको थियो।

विवादहरू मात्र होइन, रामदेवको जीवनकथामा एउटा रहस्यमयी हत्या, एउटा अस्वाभाविक बेपत्ता र एउटा अजिब परिस्थितिमा भएको मृत्युका दाग समेत लागेका छन्।

रामदेवको जीवनकथामा दाग लगारामदेवमाथिउने हरेक उदाहरण ‘पब्लिक रेकर्ड’मा छन्। पहिलो दाग हो, स्वामी योगानन्दको हत्या। योगानन्द एक आयुर्वेदिक चिकित्सक र रामदेवका साथी हुन्। उनले रामदेवको दिव्य योग मन्दिर ट्रस्टलाई सन् १९९५ मा आयुर्वेदिक औषधि उत्पादन अनुमतिका लागि आफ्नो लाइसेन्स प्रयोग गर्न दिएका थिए। आठ वर्षसम्म चलेको उनीहरुको सहकार्य सन् २००३ मा टुट्यो। त्यस बेलासम्म रामदेवको कम्पनीले स्वामी योगानन्दकै लाइसेन्सका आधारमा आयुर्वेदिक औषधि उत्पादन गरिरहेको थियो।

उनको लाइसेन्स प्रयोग गर्न छाडेको एक वर्षपछि सन् २००४ मा योगानन्द हरिद्वारस्थित आफ्नै घरको पोखरीमा मृत भेटिए। कुनै टुंगो नलगाई योगानन्दको केस सन् २००५ अक्टोबरमा बन्द गरियो।

योगानन्दको केस बन्द गरिएको दुई वर्षपछि सन् २००७ मा रामदेवका ७७ वर्षीय गुरु शंकर देव एकाएक हराए। शंकर देवले आश्रम र अर्बौं पर्ने जमिन रामदेवको दिव्य योग मन्दिरलाई दिएका थिए। आफ्ना शिष्य (रामदेव)को सफलतापछि पनि शंकर देव एकदमै कडा रूपमा प्रस्तुत हुन्थे। एकदिन ‘मोर्निङ वाक’ गर्दै गर्दा उनी गायब भए, त्यसपछि कहिल्यै फर्किएनन्। उनले आफूले लिएको एक ऋणबारे नोट छाडेर गएका थिए।

आफ्ना गुरु बेपत्ता हुँदा रामदेव बेलायत र अमेरिका यात्रामा थिए। उनी त्यहाँबाट एक महिनासम्म स्वदेश फर्किएनन्। उनी फर्किएपछिको एक पत्रकार सम्मेलनमा ‘किन तत्कालै नफर्कनुभएको?’ भन्ने प्रश्नको जवाफमा रामदेवले भनेका थिए, ‘यदि उनी जिउँदै छन् भन्ने थाहा पाएको भए, म फर्कन्थेँ।’

भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले सन् २०१२ मा शंकर देव बेपत्ताको छानबिन सुरु गरेको थियो। मैले सूचनाको हकअन्तर्गत विवरण माग गर्दा सिबिआईले दिएको प्रतिउत्तर अनुसार अझै पनि यो केस बन्द गरिएको भने छैन।

राम देवसँग जोडिएका व्यक्तिको मृत्यु र बेपत्ता शृंखला शंकर देवमा मात्र सीमित भएन। रामदेवको स्वदेशी अभियानका पथ प्रदर्शक राजीव दीक्षितको सन् २०१० मा अकस्मात मृत्यु भयो।

रामदेव र दीक्षित मिलेर खोलिएको राजनीतिक दलका लागि छत्तिसगढको बेमेतारामा भाषण दिएपछि राजीव अकस्मात बाथ रूममा ढले। उनलाई हृदयघात भएको बताइयो। ४३ वर्षीय दीक्षित त्यसै रात बिते। भोलिपल्ट बिहान दीक्षितका सहयात्रीले उनको अनुहार नीलो भएको देखे। उनीहरूले रामदेव समक्ष पोस्टमार्टमको प्रस्ताव गरे। रामदेवले भने शास्त्रीय मान्यताको दाबी गर्दै पोस्टमार्टम अस्वीकार गरिदिए। दीक्षितको पोस्टमार्टम नगरी दाहसंस्कार गरियो।

रामदेवको जीवनबारे अनुसन्धान सुरु गर्दा मैले झुपडीदेखि महलसम्म पुगेको सानदार कथा बुनाँैला भन्ने अपेक्षा गरेकी थिएँ। रामदेव गरिब परिवारमा जन्मिएका थिए। अहिले उनी ३.६ बिलियन अमेरिकी डलरको मालिक छन्। वास्तवमा मैले उनको झुपडीदेखि महलसम्मको यात्राको कथा मात्र होइन, धेरै थोक पाएँ। मैले पाएका प्रमाणले रामदेवलाई ती मृत्युसँग जोड्दैनन् र उनी बारम्बार यी ती घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएका छन्। यद्यपि रामदेव जहाँ जान्छन्, दुःखान्त (ट्रेजेडी)हरू उनलाई पछ्याउँदै सँगसँगै जान्छन्।

(रामदेवसम्बन्धी पुस्तक ‘फ्रम गडम्यान टु टाइकुनः दी अनटोल्ड स्टोरी अफ बाबा रामदेव’की लेखिका प्रियंका पाठक नारायणको गत आइतबार स्क्रोल डट इनमा प्रकाशित आलेखको भावानुवाद।)

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्