काठमाडौँ ।  पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा विकास गरिएको मदन भण्डारी राजमार्गको १ सय ५३ किमि सडक कालोपत्रे भएको छ । झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपालसम्मको १ हजार २ सय ५० किमि दूरीको सडकले चुरे र भित्री मधेस हुँदै अघि बढ्छ ।

Advertisements
सामरिक महत्त्वको सडक विस्तारपछि यसले आसपासका क्षेत्रको आर्थिक, सामाजिकलगायत गतिविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मदन भण्डारी राजमार्ग प्रमुख उमेश बिन्दुले बताए । ‘अधिकांश सडक खण्डको ट्र्याक खोल्ने काम हुँदै छ,’ उनले भने, ‘दुई लेन विस्तारसँगै कालोपत्रे थालिसकेका छौं ।’ भित्री मधेस, चुरे भावर, शिवालिक तथा दुन उपत्यकालाई यातायात सञ्जालमा जोड्ने यो सडक रुपाल पुगेर टुंगिन्छ । धरान–चतरा सडक र महेन्द्र राजमार्गका केही भागलाई समेत समेटेर गत वर्ष सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरेको हो ।

Advertisements
यसरी धरान, चतरा, गाईघाट र सिन्धुली हुँदै हेटौंडासम्मको ३ सय १८ किमिमध्ये ८० किमि कालोपत्रे भइसकेको धरान चतरा पूर्वी खण्डका प्रमुख ललिजन खनालले जानकारी दिए । साना–ठूला गरी करिब ४३ पुलमध्ये ३४ वटाको निर्माण सकिएको उनको भनाइ छ । बाँकी पुलको ठेक्का भइरहेको र यसमा खासै समस्या नभएको उनले बताए । ४० देखि ३ सय मिटरसम्म पुल निर्माण भइसकेका छन् । ‘अब धेरै काम पनि बाँकी छैन,’ उनले भने, ‘पूर्वी भागमा काम सकिन्छ ।’ ३३ वटा पुल निर्माणका चरणमा रहेको धरान–चतरा पश्चिम खण्डका इन्जिनियर केशव ओझाले जानकारी दिए । ‘एक–दुई वटामा मुआब्जा विवाद आएको छ, त्यो पनि चाँडै समाधान हुन्छ,’ उनले भने, ‘समस्या छैन ।’

पूर्वी भागमा १ सय ३५ र पश्चिम खण्डमा १ सय ८३ किमि सडक पर्छ । यो मार्गको हेटौंडादेखि गैंडाकोटसम्मको करिब ८० किमि महेन्द्र राजमार्ग (पूर्वपश्चिम) मा पर्छ । दुई लेन विस्तार हुने उक्त सडकको चौडाइ ११ मिटर हुनेछ । तीन वर्षभित्र विस्तार गरिसक्ने भन्दै तीव्र रूपमा काम अघि बढेको राजमार्ग प्रमुख बिन्दुले बताए । ३ सय १८ किमि धरान–चतरा–हेटौंडा, हेटौंडा–गैंडाकोट ८० किमि महेन्द्र राजमार्ग, ७ सय ८० किमि पछिल्लो मदन भण्डारी लोकमार्ग, २० किमि बीपी राजमार्ग र अन्य बाँकी ६१ किमि पनि महेन्द्र राजमार्गलाई जोडेर यो लोकमार्ग घोषणा गरिएको हो । अधिकांश स्थानमा ट्र्याक खोल्ने काम सकिएको र कालोपत्रेको काम अघि बढाइने उनको भनाइ छ । केही ठाउँमा सर्भे र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको उनले बताए ।

मदन भण्डारी राजमार्गका लागि सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेटमा ४ अर्ब ५० करोड विनियोजन गरेको छ । उक्त राजमार्ग निर्माणमा २० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । आव ०७९/८० मा काम सक्ने लक्ष्य राखिएको बिन्दुको भनाइ छ । राजमार्गको दाङदेखि सुर्खेतको बोटेचौरसम्म कालोपत्रे भइरहेको छ । बोटेचौरलगायत केही खण्डमा ७३ किमि सडक कालोपत्रे भइसकेको उनले बताए ।

दुई लेनको यो राजमार्ग झापाको शान्तिनगरदेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा हुँदै नवलपरासीको गैंडाकोटसम्म पुग्नेछ । पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्यूठानको बाग्दुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडर हुँदै डडेल्धुराको रुपालसम्म पुर्‍याइनेछ ।

धरान–झापा क्षेत्रको करिब १ सय २० किमि सडकको डीपीआर भइसकेको छ । गैंडाकोट–राम्दी १ सय ३२ किमि सडकखण्ड पनि कालोपत्रेको काम सुरु भइसकेको बिन्दुले जानकारी दिए । तर उक्त खण्डलाई सडक विभागअन्तर्गतकै अर्को आयोजनाले निर्माण अघि बढाएको छ । राम्दी–तम्घास क्षेत्रमा पनि राजमार्गको निर्माण भौतिक कार्य निकै अघि बढेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पहलमा तम्घास–प्यूठान–तुलसीपुर–पुरनधारा–सुर्खेत क्षेत्रको अधिकांश भाग कालोपत्रे भइसकेको उनले बताए । सुर्खेतको बड्डीचौर–कर्णाली (अछाम–सुर्खेतको सिमाना) हुँदै करिब ९४ किमि ट्र्याक खोल्ने काम सकिएको उनले बताए । ‘केही भागमा डीपीआर र डिजाइनको काम भइरहेको छ,’ उनले भने । जोगबुडा–रुपाल क्षेत्रको करिब १८ किमिमा डीपीआरलगायत सर्भेको काम भइरहेको बिन्दुको भनाइ छ । राजमार्गको दक्षिणतिर हुलाकी र उत्तरतिर मध्यपहाडी लोकमार्ग निर्माणाधीन छन् ।

प्रचुर खेतीयोग्य जमिनयुक्त भूभागका साथै दुन उपत्यका भएर जाने मदन भण्डारी लोकमार्गको भौगोलिक स्थिति समथरदेखि हल्का पहाडी रहेको उनले जानकारी दिए । ‘उर्वरा भूमि भएर जाने भएकाले यो सडकको निकै महत्त्व छ,’ उनले भने, ‘यस क्षेत्रमा बसोबास गर्ने मान्छेको आर्थिक तथा सामाजिक जीवनस्तर निकै माथि पुग्नेछ ।’ जलवायु र हावापानीका हिसाबले यस खण्डमा बस्न निकै फाइदाजनक हुने उनले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्