विजया दशमीको शुभकामना सन्देश

Advertisements

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
दशैं नेपालीहरुको मौलिक पर्व हो । सबै जातजाति र समुदायले आ—आफ्नै ढंगले दशैं मनाउँदै आएको पाइन्छ । दशैं पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व हो । रोजगारी, अध्ययन र अरु अवसरको खोजीमा शहर र विदेश गएकाहरु दशैंर्मा घर फर्केर परिवारसंग रमाईलो गर्नुले यो पारिवारिक मेलमिलाप र भातृत्वको पर्व हो । नेपाली समाजमा हरेक सांस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएका छन् । अझ दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले सद्भाव, मेलमिलाप र भातृत्व बढाउन महत्वपूर्ण भूमिका रहन्छ । व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्व दशैंलाई विकृति र तडकभडकबाट टाढै राखेर मनाउन सक्दा यसको मौलिकता जोगिन्छ नै, समाज अझै एकताको सुत्रमा बाँधिन्छ । समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ । दलहरुको अगुवाईमा समाजको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै जान्छ ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छौ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिक विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा निर्वाचन मार्फत राजनैतिक नेतृत्व स्थापित भएपछि संघीयताको राजनीतिक आधारशीला खडा भएको छ । प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन तीब्र गतिमा भइरहेको छ । मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गरी नागरिकको मुहारमा उज्यालो छर्नु छ ।

Advertisements

हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा, विजया दशमीको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको मंगलमलय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ असोज २१

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्