काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय दुरी बढेको चर्चा राजनीतिक वृत्तमा बाक्लिएको छ।

Advertisements

विभिन्न संचारमाध्यममा प्रधानमन्त्री ओलीका एकपछि अर्को अन्तर्वार्तामा व्यक्त धारणा र त्यसका ‘काउन्टर’जस्ता लाग्ने अध्यक्ष प्रचण्डका सार्वजनिक मञ्चका भाषणले दुवैबीच दुरी बढेको हो कि? भन्ने आशंका व्यापक बनेको हो। नेकपाका नेताहरू अनौपचारिक कुराकानीमा पूर्वएमाले र पूर्वमाओवादीको कित्तामा उभिएर कुरा राख्ने र दुवै अध्यक्षका सार्वजनिक अभिव्यक्तिप्रति चासो, चिन्ता, आशंका र रक्षा एवं प्रतिवाद गर्न लागेको अवस्था छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकता, अध्यक्ष प्रचण्डसँग भएको भनिएको सहमतिबारे व्यक्त विचार, अध्यक्ष प्रचण्डका चितवन र धनगढीमा त्यसको करिब करिब विपरीत लाग्ने जस्ता मन्तव्य दिनु अनि सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई अध्यक्षबीचको सहमतिबारे मोरङमा व्यक्त गरेको चासो र इन्कारीप्रति पार्टीभित्र बिस्तारै दुवै अध्यक्षबीच विमति गहिरिएकै त होइन भन्ने आशंका उब्जिएको छ।

Advertisements

दुवै अध्यक्षबीच पार्टी एकताका क्रममा भएको भनिएको सम्झौतामा पाँच वर्षे प्रधानमन्त्रीको कार्यकाल आधा-आधा बाँड्ने सहमति भएको, पार्टी एकताका क्रममा भएका विभिन्न जिम्मेवारी बाँडफाँट, पार्टी बैठकको अध्यक्षता आलोपालो गर्ने, ओलीको कार्यशैली लगायतका विषयमा विवाद रहेको सार्वजनिक भएको थियो। जसका कारण ओलीले प्रचण्डलाई लक्षित गरेर अभिव्यक्ति दिने र प्रचण्डले पनि ओलीलाई लक्षित वक्तव्य दिने तथा पार्टी सचिवालयका अन्य नेताहरूसँग छलफल गरेर उनलाई अल्पमतमा पार्ने प्रयास गरेको भन्ने विषय सार्वजनिक भएका थिए। तर, आइतबार भने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अध्यक्ष प्रचण्डको भाषा मिलेको जस्तो देखिएको छ।

दुवै नेताले फरक-फरक कार्यक्रममा एकअर्कासँग कुनै विवाद नरहेको अभिव्यक्ति दिएका छन्। ओलीले प्रचण्डसँग आफ्नो दुरी नबढेको भनेर अभिव्यक्ति दिएका छन् भने प्रचण्डले सरकारको बचाउ गर्नका लागि आफू लागिपरेको र पार्टीको एकतालाई कमजोर पार्ने कुनै पनि काम नहुने भन्दै एकताबद्ध भएर जाने बताएका छन्। दूरी बढ्यो भन्नेहरूको गणित मिलेन : ओली प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग आफ्नो दुरी बढ्ने कुनै सम्भावना नरहेको बताएका छन्। अजरबैजानको बाकुमा सम्पन्न असंलग्न राष्ट्रहरूको १८ औँ सम्मेलनमा भाग लिएर आइतबार विदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डसँग आफ्नो दुरी बढ्ने कुनै अवस्था नरहेको बताएका हुन्। प्रचण्डसँग तपाईंको दुरी बढेको छ नि? भन्ने प्रश्नको जवाफमा ओलीले ठट्यौली शैलीमा भनेका थिए, ‘काठमाडौंमा हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै पर्‍यो नि! त्यो बाहेक टाढा केही पनि छैन।

दुरी बढेको भन्ने होइन कि दुरी घटेको हो भन्नुपर्ने ठाउँमा दुरी बढेको भनेर के खालको गणितले काम गर्छ? मिलेन गणित।’ ओलीको जवाफमा पार्टीभित्र वैचारिक मतभेद छ र नेकपाले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढ्छ भन्ने भाव भने झल्किरहेको थियो। प्रचण्डले केही दिन पहिले मोरङमा आयोजित कार्यक्रममा मदन भण्डारीसँगको प्रसंगलाई जोडेर दिएको अभिव्यक्तिबारे पत्रकारले राखेको जिज्ञासामा ओलीले दिएको जवाफ यस्तो थियो, ‘मदन भण्डारीका विचारलाई अगाडि लिएर समयानुकूल रूपमा अगाडि बढाउँछु भन्नुभएको (प्रचण्डले) हुनुपर्छ।’ नेकपाभित्र कुन विचार अंगीकार गर्ने भन्ने विवाद पार्टी एकतादेखि नै कायम छ।

पूर्वएमाले पक्षधर नेताले मदन भण्डारीको जबज मान्नुपर्छ भनिहरेको र पूर्वमाओवादीले एक्काइसौँ शताब्दीको जनवादलाई सिद्धान्त मान्नुपर्ने धारणा राख्दै आएका थिए। जसको समाधान पार्टी एकताका क्रममा उक्त कुरा महाधिवेशनबाट टुंगो लगाउने गरी भएको थियो। तर, बेलाबेला नेकपाभित्र कुन सिद्धान्त अपनाउने भन्ने विषयले विवाद सिर्जना गर्दै आएको छ। नेकपाको स्कुल विभागको नेतृत्व सुम्पिने बेलामा पनि यो विषयले व्यापक बहस र विवाद सिर्जना गरेको थियो। जबजलाई पार्टीको आधिकारिक सिद्धान्त बनाउनुपर्छ भन्ने ईश्वर पोखरेललाई उक्त विभागको नेतृत्व दिन हुन्न भन्दै पूर्वमाओवादी पक्षका नेताले विवाद गरेका थिए। पछि उक्त विवाद साम्य पार्दै पोखरेललाई उक्त विभाग प्रमुख तोकिएको थियो।

नेताबीच विवाद निकाल्ने शक्ति लागिरहेकै छ : प्रचण्ड नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार नै भक्तपुरमा आयोजित एक कार्यक्रममा कार्यकर्ताहरूलाई सरकार र पार्टीको रक्षा गर्न तथा सरकार र पार्टीको हितविरूद्ध लाग्नेहरूको प्रतिवाद गर्न निर्देशन दिएका छन्। प्रचण्डले सरकार र पार्टीलाई बदनाम गराउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखेका हुन्। राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समोवशिता ल्याउन सबैको भूमिका रहेको प्रचण्डको भनाइ थियो। उनले यसको जगेर्ना गर्न लाग्नुपर्ने धारणा राखेका थिए। प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीले दुई तिहाई बहुमत ल्याएर सरकार संचालन गरेको पुराना निरंकुश शासकहरूले मन पराएका छैनन्। रातदिन उनीहरू यो पार्टी र सरकारलाई के गरी कमजोर र बदनाम गर्न सकिएला? के गरी पार्टीका नेताहरूभित्र विवाद सिर्जना खडा गर्न सकिएला? भनेर लागेका छन्।’ परिवर्तनलाई पछाडि फर्काउन खोज्ने, जनतामा भ्रम सिर्जना गर्न खोज्ने प्रवृत्ति राष्ट्र र जनताको विरुद्धमा भएको कुरा बुझ्नुपर्ने उनको भनाइ थियो। मुलुकको समृद्धिका लागि वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व सक्षम रहेको र यसलाई अझ बलियो बनाएर जानुपर्ने प्रचण्डको भनाइ थियो। उनले सबै भाषाभाषी, जातजाति एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए। एकताको विरुद्ध लाग्नेको प्रतिवाद गर्नुपर्ने पनि उनको भनाइ थियो।

प्रचण्डले थपेका थिए, ‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्त्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्त्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।’ दुई अध्यक्षको आगामी बाटो सतहमा हेर्दा ओली र प्रचण्डबीच धेरै विमति छैन भन्ने उनीहरूका अभिव्यक्तिले नै देखाएको छ। तर, ओलीले भनेझैँ दुवैको गणित मिलेकै हो त? यो प्रश्नको जवाफ अब तिहार र छठ मनाएपछि हुने नेकपाभित्रको राजनीतिक गतिविधि हेर्नुपर्नेछ । ओली-प्रचण्डबीच सम्बन्ध कस्तो हुनेछ भन्ने चासोको विषय भने अझै पनि कायमै छ। किनकि, नेकपाभित्र स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने दबाब दुवै अध्यक्षमाथि बढिरहेको छ। पार्टीका केन्द्रीय सदस्यहरूको कार्य विभाजन अझै पनि बाँकी छ। पार्टीका केन्द्रीय निकायहरू ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, निर्वाचन आयोगलगायत विभिन्न विभाग, आयोग गठनबारे सहमति भइसकेको छैन। यी काम फत्ते गर्नुपर्ने दबाब दुवै अध्यक्षमाथि छ। यी कामका अलवा, सभामुखको छनोट, चर्चामा रहेको मन्त्रिपरिषदमा परिमार्जन, पार्टीको आगामी कार्यदिशालगायतका विषयलाई दुवैले कसरी सल्टाउँछन् भन्ने कुराले उनीहरूको गणित मिलेको हो कि होइन भन्ने प्रष्ट हुनेछ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्