(बर्दिया) — भारतीय नेटवर्किङ कम्पनी ओरियन्स ग्लोबल मार्केटिङ प्रालिले औषधि भन्दै ठगी धन्दा सञ्चालन गरिरहेको रहस्य खुलेको छ । बर्दियाका गरिब, अशिक्षित र सोझा युवालाई सदस्य बनाएर ठगी धन्दा चलाएको शनिबार सार्वजनिक भएको हो ।

Advertisements

उक्त कम्पनीको सदस्य बनेर अवैध किसिमका औषधि बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । राजापुर नगरपालिका–३ की आशा थारू, बारबर्दिया नगरपालिका–७ का दीपक चौधरी, गुलरिया नगरपालिका–५ का हिमाल भन्ने प्रजय चौधरी र गुलरिया नगरपालिका–४ का विवेक थारू पक्राउ परेका हुन् । मुख्य नाइके मानिएका कैलाली टीकापुर–१ का अन्दाजी २६ वर्षका साजन चौधरी भारतमा छन् । उनलाई पक्रन नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ ।

Advertisements
पश्चिम तराईको बर्दिया, कैलाली, कञ्चनपुरसम्म यसले जालो फैलाई अवैध रूपमा दैनिक ठूलो संख्यामा सदस्य बनाउने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । भारत उत्तरप्रदेश राज्यको लखिमपुरस्थित उक्त कम्पनीको उपशाखामार्फत यहाँ सदस्य बन्नका लागि ६० हजार भारु शुल्क लिने गरिएको छ । एक जना सदस्य बनेपछि उसले थप दुई जनालाई सदस्य बनाउने भएसँगै सयौं युवकयुवती ठगिँदै गएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

अहिले करिब एक सय जना ठगिएको भन्दै प्रहरीसमक्ष उजुरी दिएका छन् । कारोबार फैलिए पनि सदस्य कति छन् भन्ने खुलेको छैन । नेपालमा प्रतिबन्धित उक्त नेटवर्किङले तराईका २२ जिल्ला र पहाडी केही जिल्लामा व्यवसाय विस्तार गरिसकेको प्रहरी उपरीक्षक बाँस्तोलाले बताए । प्रतिबन्धित बहुराष्ट्रिय कम्पनी ओरियन्स ग्लोबल मार्केटिङ प्रालिले सिंगापुर, फिलिपिन्स, भुटान, यूएई, थाइल्यान्ड, मलेसिया, श्रीलंकालगायत नेपालमा गैरकानुनी रूपमा व्यवसाय विस्तार गरेको छ । प्रधान कार्यालय भारतको चेन्नई, शाखा दिल्ली र सीमावर्ती लखिमपुरमा नेचुरेल वेल इन्टरप्राइजेज नामक उपशाखा खोलेको छ । पक्राउ परेकाले दिएको बयानअनुसार संस्थाको सदस्य बन्न सुरुमा २ हजार रुपैयाँ तिर्नुपर्छ । सदस्यले चार दिनको प्रशिक्षण लिनुपर्छ । पाँचौं दिनमा ग्राहकसँग बोल्न सक्ने र नसक्ने परीक्षा उत्तीर्ण गरेपछि थप दुई जनालाई सदस्य बनाउनुपर्छ ।

नेटवर्किङ व्यापारमा एउटा समूह बन्न तीन जना आवश्यक पर्छ । जति सदस्य बनायो, उति नै माथिल्लो पद र कमिसन पाउने प्रलोभन दिने गरेको बयानमा उल्लेख छ । औषधि बिक्री र सदस्य बनाएर ठूलो रकम भारतमा लगेका छन् । राजापुर नगरपालिका–३ की मुक्त कमलरी सविता राजवंशीले सदस्य बनेबापत ६० हजार भारु बुझाएको प्रहरीलाई बताएकी छन् । उनले आफू ठगिएको भन्दै कारबाहीका लागि सदस्य बनाउनेविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । ‘मलाई सदस्य बनाउनेले रोग सन्चो हुन्छ, साथसाथै आम्दानी पनि राम्रो हुन्छ भनेर झुक्काए,’ उनले भनिन्, ‘सोझा, अशिक्षित र गरिब परिवारका बिरामीलाई औषधि बेच्ने उद्देश्यले सदस्य बनाउने रहेछन् ।’

हरेक रोगको उपचार ६० हजार रुपैयाँमा जिन्दगीभर हुने भन्दै रकम लगेको पीडितले दिएको उजुरीमा उल्लेख छ । राजापुर–५ की विमलाकुमारी थारूले ६० हजार भारु बुझाएर सदस्य बनेको बताइन् । ‘पछि थाहा भयो आफू ठगिएको,’ उनले भनिन्, ‘अरू पनि ठगिने बुझेपछि प्रहरीमा उजुरी दिएँ ।’ नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्न औषधि विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । उक्त कम्पनीले भने इजाजत नलिई औषधि बिक्री वितरण गर्दै आएको छ । शक्तिवर्द्धक, ग्यास्टिक, टाउको दु:ख्ने, नशासम्बन्धी औषधि ओरियन्स कम्पनीले बेचबिखन गर्ने गरेको छ । औषधिको नाम, मिति, कम्पनीलगायत केही कुरा पनि खुलेको छैन ।

प्रहरीका अनुसार नेटवर्किङ ठगी मुद्दा लागेकाको आरोप प्रमाणित भए मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ३ (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार जरिवाना हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्