पौराणिक कथाअनुसार एक समय देवताहरूका राजा इन्द्र अप्सराहरूको नृत्यमा भुलिरहेका थिए । त्यति नै खेर इन्द्रको दरबारमा देवताहरूका राजा वृहस्पति आइपुगे । अप्सराको नृत्य र सोमरसकोे नशामा भुलिरहेका देवराज इन्द्रले वृहस्पतिलाई सामान्य अभिवादनसमेत गर्न भुले । अपमानित भएको रिसले वृहस्पति इन्द्रको दरबारबाट सरासर कतै लागे, फर्केनन् ।

Advertisements

मुख्य गुरु रिसाएर बेपत्ता भएपछि इन्द्रले उनको व्यापक खोजी गरे, तर भेटाउन सकेनन् । त्यसपछि देवताहरूले आफ्ना अर्का अभिभावक ब्रह्माको सुझाबअनुसार अर्को नै गुरु छाने । अर्का गुरु थिए, तीनटाउके विश्वरूप । त्वष्टा नामका देवताका छोरा थिए, विश्वरूप । बुबा देव पक्षका भए पनि यिनकी आमा भने असुरकी छोरी थिइन् । इन्द्रको संगत गरेपछि इन्द्र र अन्य देवताहरू स्त्रीलम्पट र रक्स्याहा रहेछन् भनेर विश्वरूपले थाहा पाए । त्यसपछि देवताहरूप्रतिको उनको सद्भाव/सम्मान पनि घट्यो ।

Advertisements

आफू स्वयं असुरहरूको भान्जा भएका कारण विश्वरूपले देवताहरूले यज्ञमा चढाएका प्रसाद (हबी)हरू खुसुखुसु असुरहरूलाई लगेर खुवाउन लागे । यसो गर्दा राक्षस पक्ष प्रसादको बलले बिस्तारै बलियो हुन थाल्यो । आफ्नै गुरुले आफूहरूविरुद्ध नै काम गरेको थाहा पाएर इन्द्र रिसाए अनि विश्वरूपको टाउको काटी हत्या गरे । पुराण/धार्मिक ग्रन्थले ब्राह्मणहत्यालाई पापमध्ये पनि ‘महापाप’ ठान्छन् । विश्वरूप ब्राह्मणको हत्या गरेको पाप इन्द्रलाई लाग्ने नै भयो । तर, इन्द्रले आफ्नो भागमा परेको पाप पनि अरूलाई बोकाए । अचम्म ! धर्मको वकालत गर्ने देवताका राजा इन्द्रले आफ्नो भागमा परेको पाप धर्ती, जल (पानी) र स्त्री (महिला)लाई बोकाइदिए । पाप पनि अर्कालाई बोकाउन मिल्ने ! यस काल्पनिक कथालाई पत्याउने हो भने इन्द्रले आफूले गरेको अपराध पखाल्न यौवनावस्थामा प्रवेश गर्ने प्रत्येक महिला÷युवतीलाई महिनावारी झेल्न बाध्य पारे ।

हाम्रा पुराणले महिलाको मासिक रक्तश्रावलाई इन्द्रको श्राप ठानेका छन् । हाम्रो समाजले सदियौँदेखि त्यही श्रापलाई आधार मानेर महिला÷युवती÷किशोरीमाथि अत्याचार थोपरिरहेको छ । उसो त महिनावारीबारे संसारका अनेकौँ देशमा अनेक खालका भ्रम छन्, तर खासगरी दक्षिण एसियाली र त्यसमा पनि हिन्दू समाजमा महिनावारीको विषयलाई लिएर नारीले अपमान, यातना, कष्ट, पीडा युगौँदेखि भोगिरहेका छन् । महिनावारी कुनै पनि केटी मान्छे यौवनावस्थामा पुगेको संकेत हो । सामान्य अवस्थामा महिनावारी नियमित हुनुको अर्थ हो–महिला स्वस्थ छिन् र उनी बच्चा जन्माउने सामथ्र्य राख्छिन् ।

विज्ञानले भनेको छ, बच्चा जन्माउनका लागि शरीरले हार्मोन निष्कासन गर्ने सामान्य र नियमित प्रक्रिया हो, मासिकधर्म, जुन मेनोपज (महिनावारी सधैँका लागि रोकिने) सम्म मासिक रूपमा हुने गर्छ । महिनावारीमा जनेन्द्रियबाट ३–४ दिनसम्म रगत निस्कन्छ । यस्तो अवस्थामा महिलामा असामान्य अवस्था पनि देखिने गर्छ । जस्तै, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, मुड बदलिने, अमिलो–पिरो खान मन लाग्ने र कतिपय अवस्थामा बान्ता र पखालासम्म लाग्ने । महिनावारीको पहिलो दिन रक्तश्राव सुरु हुन्छ र ३–४ दिनमा त्यो रोकिन्छ । रक्तश्राव सुरु भएको त्यस्तै १४–१५ दिनमा महिला ‘उर्वर’ हुन्छिन्, अर्थात् त्यो समयमा गर्भाधान हुने सम्भावना बढी हुन्छ ।

विज्ञानलाई बुझ्ने हो भने यो अति सामान्य हो । तर, यति सामान्य विषयलाई लिएर अहिले पनि हाम्रा दिदीबहिनीहरूमाथि समाजले अपमानको कोर्रा बर्साइरहेको छ । अनि अज्ञानका कारण महिलाहरू ‘नबारे त बर्बादै हुन्छ’ भन्दै हावादारी कथा/उपन्यासको आदेश मानिरहेका छन् । प्रत्येक मान्छेले प्रत्येक दिन नित्यकर्म गर्छन् । फोहोर र घिनको विषय ठान्ने हो भने दिसा–पिसाब पनि महिनावारीजस्तै हो । तर, दिसा–पिसाब र -याल–सिंगान भने ‘बार्ने’ श्रेणीमा पर्दैन । मान्छेको शरीरमा वेलावेला चोटपटक लाग्छ, रगत बग्छ । तर, त्यस विषयलाई पनि छोइछिटोको विषय मानिन्न । ठूला दुर्घटना हुँदा त शरीरबाट ह्वालह्वाल्ती रगत नै बग्छ । चिकित्सा विज्ञानले शल्यक्रियामार्फत वार्षिक करोडौँ बिरामीको ज्यान जोगाउँछ । त्यहाँ पनि शरीर काट्ने, रगत निकाल्ने, रगत दिने र लिने काम हुन्छ । तर, यहाँ कहीँ कतै छोइछिटो हुन्न । उल्टो रक्तदानलाई जीवनदान र महादान भनिन्छ । तर, सृष्टि चलाउनकै लागि नियमित रूपमा निस्किने रगतलाई लिएर घृणा र अपमान गरिनु लाजमर्दो हो ।

अहिले पनि पश्चिम नेपालमा देउताको श्राप ठानेर ‘छुई’ भएका किशोरीमाथि मानसिक र शारीरिक कष्ट दिइने गरेको छ । ‘धार्मिक पुस्तक’ र धर्मका ठेकेदारहरूमार्फत फैलाइएका यस्ता अधर्मले महिला पीडित छन् । उनीहरूलाई मन्दिर, चाडपर्व र उत्सवमा निषेध छ । स्कुले किशोरी महिनावारीको लाज र संकोचका कारण स्कुलै जानसमेत छाडिदिन्छन् । किताब छुनसमेत प्रतिबन्ध लगाइन्छ । मिठो, अमिलो र पिरो खान मन लाग्ने यस अवस्थामा कतिपय समाजमा अमिला र मिठा खानेकुरा खानसमेत बन्देज लगाइन्छ । कतिपय संस्कारमा महिनावारी हुँदाताका महिलाले प्रयोग गरेको कपडा जलाउनेसमेत चलन छ । भूतप्रेत, पिचास र दुष्ट आत्माले दुःख दिन्छन् भनेर त्यसो गर्नुपरेको रे !

यो शिक्षा र जागरणको युग हो । जतिसुकै प्रतिबन्ध लगाए पनि विज्ञानसम्बन्धी अनेक ज्ञान/चेतना स्मार्टफोन, रेडियो, टिभी, पत्रिकामार्फत पुग्न थालेको छ, अचेल । विज्ञानले बनाएको बस÷हवाईजहाज चढ्ने, विज्ञानले बनाएका फोन, घडी, क्याल्कुलेटर प्रयोग गर्ने, विज्ञानले पत्याएको चिकित्सा पद्धति मान्ने, तर अझै पनि ‘इन्द्रले दिएको श्राप’ कटाउन हावादारी रूपमा महिनावारी बार्नु हाम्रो समाज/युगकै घोर बेइज्जती हो ।

हाम्रा आमा÷हजुरआमा पुस्ताले ज्ञान/विज्ञानयुक्त शिक्षाका कमीमा कारण यस्ता हावादारी चलनलाई पत्याए, त्यसको जाँतोमा पिसिए । त्यही धारणाले ‘ब्रेनवास’ भएका कारण अचेल हामीलाई ‘नानी तँ पर सरिस्, बारिहाल्, नत्र अनिष्ट हुन्छ’ भनेर तर्साउँछन् । तर, यस्ता बकमफुसे आदेशलाई कमसेकम मेरो पुस्ताले नमानोस् । ‘छुई’ मेरो गौरव होे, मेरो प्राकृतिक गुण हो । संसारमा प्राणीको आमा हुने हक प्राप्त गर्नु चानचुने हो ? र, बच्चा जन्माउने मुख्य आधार नै महिनावारी हो । कुनै स्त्रीलम्पट राजाको कथालाई सत्य ठान्दै मक्किएको र गन्हाउने त्यस्तो घटिया चलनलाई हामीले किन मान्नु ?

पुरुष हुन् या महिला, तिनको शरीर स्वस्थ रूपमा चल्नलाई तिनको शरीरले नियमित काम गर्नुपर्छ । दिसा–पिसाब, -याल–सिंगान, खोकी र पसिना आउने काम नियमित भइरहन्छ । महिला जन्म दिने प्राणी भएकाले उनको शरीर नियमित रूपमा ‘अपडेट’ भइरहन्छ । मासिकश्राव यसैको महत्वपूर्ण हिस्सा हो । यस्तो सामान्य विषयलाई पनि धर्म र पापसँग जोड्दै हामी ‘नछुने’ बारिरहेका छौँ ।

यो विशाल धर्तीमा सबै कुरा एक–आपसमा जोडिएका छन्, यहाँ नजोडिने र नछोइने केही छैन । यस्तो अवस्थामा अत्यन्त प्राकृतिक कुरालाई पनि परम्परा ठान्दै बार्ने र छोइछिटो गर्नु महिलाको मात्रै नभएर मानव जातिकै लागि लज्जाको विषय हो । यसर्थ, महिनावारी हुँदा सफा प्याड नियमित प्रयोग गरौँ, आफ्नो सरसफाइमा ख्याल दिऊँ । टन्न मिठा र स्वस्थ खानेकुरा खाऊँ । उत्सव, चाड, पर्व, मेला, दसैँ, तिहार, चाडपर्व, मेला, महोत्सवमा सक्रिय बनेर भाग लिऔँ । र, मासिकश्राव अत्यन्त व्यक्तिगत कुरा भएकाले यसलाई सार्वजनिक नगरौँ । नयाँ पुस्ताले ‘महिनावारी’ नबारौँ, बरु अन्धविश्वास बारौँ ।

-नयाँ पत्रिका

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्