सल्यान दक्षिण यशियाली लेलकुद (साग) को म्याराथनमा नेपाललाई पहिलो रजत पदक जिताउन सफल सल्यानी चेली म्याराथन धाविका पुष्पा भण्डारीलाई कपुरकोटमा सम्मान गरिएको छ । कर्णाली प्रदेश सरकारबाट नगद २ लाख सहित सम्मानित भइसकेकी पुष्पालाई मंगलबार गृह जिल्ला सल्यानको कपुरकोटमा स्वागत र सम्मान गरिएको हो ।

Advertisements

शारदा नगरपालिका १४ मालनेटा स्थित स्याला घर भएकी पुष्पाले सागमा रजत पदक जितेपछी चारैतीरबाट बधाई र थप हौसला प्राप्त गरिरहनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले कपुरकोटमा पुष्पालाई सम्मान गर्दै सल्लानको गौरव बढेको बताउनुभयो । कपुरकोट गाउँपालिकाका प्रमुख समेत रहनुभएका सेनले आफु पनि खेल क्षेत्रको विकासमा लागिरहेको अवगत गराउँदै यस वर्ष सञ्चालन हुने अध्यक्ष कप तथा राष्ट्रिपति रनिङ सिल्डमा धेरै विधाका खेल समावेश गरिने प्रतिवद्धता जनाउनुभयो । कपुरकोट खेलकुद विकास समितीको आयोजनामा पुष्पालाई सम्मान गरिएको हो ।

Advertisements

४ फिट ११ ईन्च उचाई भएकी पुष्पा २३ वर्ष पुग्नुभयो । उहाँले खेलको सुरुवात कपुरकोटबाट नै गर्नुभएको हो । पुष्पाले भन्नुभयो, ‘म २०६३ सालमा नेरामावि किमुचौर ( कपुरकोट ४ सल्यान) मा दौड प्रतियोगीतामा भाग लिएकी थिएं । त्यतिखेर मं त्यस्तै ९/१० वर्षकी थिएं । कपुरकोटबाटै मेरो खेल यात्रा सुरु भएको हो ।’ २०६८ मा आयोजना गरिएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १५ वर्षको उमेरमा दौडिएर दोश्रो हुनुभएकी पुष्पा १२ औँ साउन एशियन खेलकुदमा पनि भाग लिनुभयो । तर त्यतिखेर उहाँ दौड्दा दौडदै वेहोस हुनुभएको थियो । ‘म विरामी पनि थिएं, दौडने क्रममै लडेछु, केहि थाहा भएन’ उहाँले भन्नुभयो ।

एक त होँचो कदकी पुष्पा त्यस माथी १२ औँ सागमा असफल भएपछि उहाँ सल्यान फर्किएर पढाईतिर नै बढी ब्यस्त हुनुभयो । पुष्पाले भन्नुभयो, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा अरु खेलाडिहरु अग्ला अग्ला हुन्थे, मं होची भएकाले खेल खेल्न सक्दैन जस्तो लाग्थ्यो ।’ तर उहाँलाई आफ्ना गुरुले हौसला प्रदान गरे । पुष्पालाई राष्ट्रिय प्रतियोगिता सम्म पुर्याउने गुरु सल्यानका खेलाडि रविन राई हुनुहुन्छ भने अन्तराष्ट्रिय स्तरका खेल सम्म पुर्याउने गुरु दाङका धनीराम चौधरी हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘रविन गुरुले होँची भएकै कारण खेल खेल्न सक्दीन होला भन्ने भ्रम त्याग्न भन्नुभयो र गुरुको हौसला पाएपछि म लम्बिनी च्याम्पियनसिपमा भाग लिएं ।’ २०६९ मा आयोजना गरिएको उक्त प्रतियोगितामा पुष्पा पहिलो हुनुभयो । त्यस पछि २०७० सालदेखि शशस्त्र प्रहरी क्लवमा करारमा आवद्ध हुनुभयो । क्लव भित्र राम्रो प्रशिक्षण पाइरहनुभएकी पुष्ष २०७५ जेठदेखि शशस्त्र प्रहरी क्लवमा स्थायी रुपमा आवद्ध हुनुहुन्छ । पुष्पाको विश्व ओलम्पीक सम्म पुग्ने लक्ष्य छ । लगत्तै उहाँ एशियन खेलकुद प्रतियोगितामा भाग लिने तयारीमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्