असार २३ – जर्मन स्ट्राइकर थोमस मुलरले जारी युरो कपमा आफूले गोल गर्न नसकेपनि  कुनै चिन्ता नभएको बताएका छन् । आफू गोलका लागि नभई राम्रो खेलका लागि खेल्ने भन्दै मुलरले गोल मात्रै खेल मूल्यांकनको आधार नभएको बताएका छन् ।खेलअघिको पत्रकार सम्मेलनमा प्राय उपस्थित नहुने मुलर बिहीबार फ्रान्ससँगकाे खेलअघि भएको पत्रकार सम्मेलनमा भने उपस्थित थिए । फिफा वल्र्ड कपमा १० गोल गरिसकेको मुलरले जारी युरो कपमा भने गोल गर्न सकेका छैनन् । पत्रकारहरुले मुलर युरोमा गोलकै खोजीमा हो ? भनेर गरेको प्रश्नमा उनले भने, ‘मेरा सबै कुरा गोलले निर्धारण गर्दैन, गोल त कारको बाहिरी रंग जस्तै हो जसले कारको बाहिर मात्र सुन्दर देखाउँछ । मेरो मुख्य इच्छा खेल जित्नु हो । म ब्यक्तिगत भन्दा टिमका लागि खेल्छु ।’ जर्मनका प्रशिक्षक जोचिम लो ले पनि मुलरको खुलेर प्रशंशा गरे । मुलरको बल खेलाउने तरीका निकै अब्बल भएको भन्दै जोचिमले विपक्षीको डिफेन्स तोड्न सक्ने मुलरको विशेषता बारे बताए । ‘म मुलरको खेललाई लिएर चिन्तामा छैन, उनी जहिले हामीले खेल जित्नेमा विश्वस्त छन् ।’ मुलरले जारी युरो कपमा नर्दन आयरल्याण्डसँग पाएको एउटा मौका खेर फाल्दा भने आफूलाई नराम्रो लागेको बताएका छन् । त्यसभन्दा बाहेक गोलका राम्रा मौका आफूले नपाएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्