दाङ । आर्थिक प्रलोभनमा
पारेर धर्म परिवर्तन गराउँदै हिँडेका बेला दाङमा पक्राउ परेका चार जना क्रिश्चियनहरूलाई छुटाउन सत्तारुढ नेकपाका दुई जना जनप्रतिनिधिहरूलाई जिल्ला प्रहरी कार्यालय दाङलाई दवाव दिएको रहस्य खुलेको छ ।

प्रहरीलाई यसरी दवाव दिनेमा तत्कालीन माओवादी केन्द्रबाट दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवम् प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र दाङ क्षेत्र नम्बर १ बाट तत्कालीन एमालेबाट प्रतिनिधि सभामा विजयी भएका सांसद मेटमणि चौधरी रहेका छन् ।

उनीहरूले दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेलाई पक्राउ परेका क्रिश्चियनहरूलाई कुनै पनि कारबाही नगरी छाड्न दवाव दिएको उच्च स्रोतले जनाएको छ ।

तर, दाङ प्रहरीले कुनै पनि राजनीतिक दवावलाई सुनेन । पक्राउ परेका क्रिश्चियनहरूविरुद्ध कडा रुप देखाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीलाई मुद्धा कमजोर बनाएर छाड्न दैनिक सरह दवाव पर्दै आएको छ ।

Advertisements

‘प्रलोभनमा पारेर जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जना क्रिश्चियनहरूलाई पक्राउ गरेपछि उनीहरूलाई छाड्न ठूलो दबाब आएको छ’, स्रोतले भन्यो, ‘यति ठूलो शक्ति केन्द्रबाट दवाव आउँछ भनेर प्रहरीले सोँचेको पनि थिएन ।’

सभामुख महरा र सत्तारुढ नेकपाका सांसदसहित उच्च राजनीतिक नेतृत्वको आदेश नमानेका दाङका प्रहरी प्रमुख एसपी पाण्डेलको सरुवा गर्न समेत दवाव पर्न थालेका छन् ।

आफूहरूको आदेश नमानेको भन्दै महरा र चौधरीले पाण्डेलाई हटाएर अर्को एसपी दाङमा भित्र्याउने अभियानमा लागेको उच्च स्रोतले जनाएको छ ।

सभामुख महरा क्रिश्चियनहरूप्रति नरम मानिन्छन् । महराले केही वर्ष अगाडि नेपालगञ्जमा चर्चमा पास्टरसँग आशीर्वाद समेत लिएका थिए ।

‘होली वाइन’ काण्डले परिचित काठमाडौंमा हालै सम्पन्न क्रिश्चियनहरूको कार्यक्रमको एउटा सेसनको अध्यक्षता सभामुख महराले नै गरेका थिए । कार्यक्रमको मुख्य आयोजक पूर्वमन्त्री तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल र पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल रहेका थिए ।

तत्कालीन एमाले पृष्ठभूमि भएका नेकपाका सांसद चौधरीपनि क्रिश्चियनहरूलाई नरम व्यवहार देखाउने नेतामा पर्छन् । चौधरीले आफ्नो क्षेत्रमा क्रिश्चियनहरूको चर्च बनाउन सांसद विकास कोषबाट पैसा दिएपछि आलोचित बनेका थिए ।

क्रिश्चियनहरूसँग निकटको सम्बन्धमा रहेका चौधरीले पनि पक्राउ परेकाहरूलाई छाड्न प्रहरीलाई बेलाबेलामा दवाव दिइरहने नेतामा पर्छन् ।

गाउँ र शहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार घोराहीमा दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

विदेशी नागरिकहरूलाई दाङ प्रहरीले देश निकाला गर्न भनेर अध्यागमन विभागलाई लेखेर पठाएको छ । अध्यागमन विभागले के गरेको छ अहिलेसम्म केही जानकारी दिइएको छैन ।

घोराहीमा रहेको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव पोखरा निवासी डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, एक कार्टुन बाइबल, पैसा राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन जना नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरित धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको एसपी पाण्डेले जानकारी दिएका छन् ।

अमेरीकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको एसपी पाण्डेले बताए ।

अमेरिकी महिलालाई एक पटक भिसा रद्द गरी पठाएमा उनी फेरि नेपाल आउन नपाउने पाण्डेले जानकारी दिए ।

होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसरूलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको पाण्डेले बताए ।

केही दिनअघि दुई जापानी महिला पनि धर्म प्रचारमा हिँडेको भेटिएपछि केरकार गरिएको र प्रमाण नभेटिएपछि छोडिएको दाङका प्रहरी प्रमुख एसपी पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेले राजनीतिक दवाव आएका विषयमा केही खुलाउन चाहेनन् । ‘यसबारेमा मलाई केही थाहा छैन’, उनले भने, ‘मेरो काम भनेको ऐन कानून र संविधानअनुसार जनतालाई शान्ति सुरक्षा बनाउने दायित्व हो । सरकारको निर्देशन मान्ने हो ।’

उनका अनुसार पछिल्लो समय विदेशीहरू अनलाइन स्टडी भनेर नेपाल आउने र धर्म प्रचारका काममा हिँड्ने गरेको पाइएको छ ।

4 प्रतिक्रिया

  1. bina praman bina kunai pani christian lai pakadnu galat bichar ho. chriastian le kasto k bigareka xan ra? afno church ma program gana pani napaine ? k hindu harule chock chock ma prachar gareka xainan ra? testa pramanharu dherai xan uniharulai kina samaudainan ? christian matrai kina akhaka ko taro vaeko xa?

  2. सक्छस् भने ए बेलबहादुर पाण्डे ! सुन तस्करलाई पक्री, कालो बजारी, बिचौलिया र घुसखोरीलाई पक्रेर कार्वाही गर् । बलात्कारी र कर छलि गर्नेलाई कार्वाही गर् । सक्दैनस् भने आफ्नो धार्मिक आस्थाअनुसार जीउने र अभ्यास गर्नेहरूलाई विना कारण पक्रिन बन्द गर् । सरकारले आफ्नो नालायकी हर्कत बन्द गरोस् ।
    I am with Dilli Ram Paudel

  3. के के नै गरे भन्ठान्छ हाेला दाङकाे प्रहरी प्रमुख गर्न दिईएकाे भन्दा एक राैं पनि तल माथि गर्न सकदैनाै भाइ।

  4. सोझा इसाईहरुलाइ धर्म प्रचार्को अरोप लगाएर दुख दिन सक्नेले यो देश्म भएको भ्रस्टाचार, घुस्खोर, अनैतिक तथा बलात्कार जस्ता कुरालाई किन देख्न नसकेकोहोला ? के धर्म प्रचार यि कुरा भन्दा अपराध हुन? के अब पापको प्रचार गर्ने त?

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्