काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभासद् डोलबहादुर (डीबी) कार्कीलाई पक्राउ गरेको छ। सीआईबीका एसपी दीपक रेग्मीका अनुसार कार्कीलाई बिहीबार बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । उनले भने, ‘कार्कीलाई अदालतले दोषी ठहर गरेको थियो । त्यसैले हामीले पक्राउ गरेका हौं । उनीबारे फाइलहरु अध्ययन भइरहेको छ ।’ उनले विस्तृतमा केहीसमय पछि जानकारी आउने बताए ।

Advertisements

 

पुर्ख्यौली स्याङ्जा घर भइ हाल लमजुङ निवासी कार्की समानुपातिकको कोटामा पहिलो संविधानसभामा तत्कालीन एमालेबाट सभासद् चुनिएका थिए। उनले २०६७ मा प्रहरी भर्नाका क्रममा जागिर लगाइदिने भन्दै एक दर्जन बढी सर्वसाधारणसँग रकम लिएका थिए। एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ पनि परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई उनकै निवासबाट पक्राउ गरेको थियो। सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई ६ महिना कैदा र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सो निर्णयमा चित्त नबुझेर कार्की सर्वोच्च अदालतमा गएका थिए।

कार्की पूर्वगृहमन्त्री वामदेव गौतमका निकटतम मानिन्छन्। पहिलो संविधानसभाको चुनावपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गौतम गृहमन्त्री हुँदा प्रहरी सरुवा बढुवामा कार्कीको हालिमुहाली निकै चल्थ्यो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्