दाङ । प्रहरीको काम समाजमा शान्ति सुरक्षा कायम गर्ने हो । प्रहरीका केही नारा पनि छन् । जस्तै,‘प्रहरी मेरो साथी’ ‘मुस्कान सहितको सेवा’ । दाङको तुलसीपुरमा भने ठ्याक्कै उल्टो छ । प्रहरीले न जनतासँग साथीको व्यवहार गर्छ, न त मुस्कान सहितको सेवा नै दिन्छ । बरु प्रहरीले यहाँ बर्दीको आडमा बिना बर्दी जनतामाथी आतंक मच्चाउँदै आएको छ ।
यस्तो प्रहरी आचारण बिपरीत हर्कतको नेतृत्व गर्छन,इन्सपेक्टर चक्रडम्बर पालले ।

Advertisements

अलि बढी सन्की स्वभावका इन्सपेक्टर पाल इप्रका भित्र र बाहिर हुने औपचारिक कार्यक्रममा बाहेक डियुटीको समयमा बर्दीमा बिरलै देखिन्छन् । दिनभरी क्वाटरमा साथीभाई जम्मगरी तास खेलेर बस्ने पालको रातमा गर्ने हतकन्डा भने बेग्लै छ । उनका दारु पार्टनरहरुका अनुसार इन्सपेक्टर पाल रक्सीका ट्याङ्कर नै हुन् । उनले तुलसीपुरका होटेलमा टाउको नै उठ्न नसक्नेगरी रक्सी पिउँछन् । अनि,सुत्न इप्रकाभित्र रहेको क्वाटर जान प्रहरीकै भ्यान बोलाउँछन् । सर्वसाधरणलाई मापसे गरेको निहुँमा हिरासत कोच्ने इप्रका तुलसीपुरले रक्सीले फिटान इन्सपेक्टर पाललाई भने भ्यानमा राखेर इज्जतका साथ क्वाटरमै पु¥याउँछ । प्रहरीलाई कसले छुने ? त्यो पनि जवान,हवल्दार हो र ? इन्सपेक्टर पो त ।

सबैले बुझ्ने भाषामा भन्ने हो भने पालले इन्सपेक्टर दर्जाको ‘दुरुपयोग’ गर्ने गरेका छन् । साँझ परेपछी ‘रेडलेबल’रक्सी खाएर बजार निस्कने उनी सादा पोशाकमा हुन्छन् । आफैँ रक्सीले फिटान भएका पाल होटेल होटेलमा चाहार्छन् । आफू बिना बर्दी भएपनी बर्दीवाल प्रहरीको बलमा आतंक मच्चाउन सुरु गर्छन् । होटेल भित्र गएर मापसे चेक गर्ने अधिकार प्रहरीलाई छैन् । तर,नेपालको कानुनलाई पैतला मुनी कुल्चेर उनले होटेलभित्र प्रवेशगरी सवैसाधारणलाई रक्सी खाने भन्दै नियन्त्रणमा लिन्छन् । उनले सर्वसाधारणमाथि ज्यादती मच्चाइ रहँदा उनी आफैँ डुँङडुङती रक्सी गन्हाइरहेका हुन्छन् । उनी इन्सपेक्टर भए होटेल भित्र दिनभरीको थकान मेटाउन राज्यबाटै स्वीकृत प्राप्त मदिरा सेवन गर्ने सर्वसाधारणलाई अस्पताल लगेर मापसे चेक गराउँछन् । अरुलाई मापसे चेक गराउँदै गर्दा उनी आफैँ रक्सीले मातेका हुन्छन् । तर,उनलाई मापसे चेक कसले गर्ने ?

उनको प्रहरी आचरण बिपरीतका गतिबिधीको फेरिस्ता लामै छ । उनलाई प्रहरीको बर्दी र इन्सपेक्टरको फुलीको यति मात चढेको छ की,सर्वोच्च अदालतको आदेशलाई समेत कट्टु लगाइदिन्छन् । केही बर्ष पहिले काठमाण्डौमा प्रहरीले लामो कपाल पालेका पुरुषको कपाल काटिदिने र कानमा मुन्द्रा लगाए छराइदिने अभियान थाल्यो । प्रहरीको त्यस अभियान बिरुद्ध सर्वोच्च अदालतमा रिट प¥यो । र,सर्वोच्च अदालतले उक्त रिट माथि सुनुवाई गर्दै पुरुषले पनि लामो कपाल पाल्न र मुन्द्रा लगाउन पाउने ठहर गर्दै गैरकानुनी काम तत्काल बन्द गर्न प्रहरीलाई आदेश दियो । अनि,प्रहरीले त्यो अभियान बन्द ग¥यो ।

तर,इप्रका तुलसीपुरका प्रमुख डीएसपी हरिहर नाथ योगी बिदा बसेका बेला निमित्त प्रमुख हुने इन्सपेक्टर पालले भने कपाल पालेका र मुन्द्रा लगाएका पुरुषलाई इप्रका तुलसीपुरमा प्रवेश निषेध गरेर दादागिरी मच्चाइरहेका हुन्छन् ।

इप्रका तुलसीपुरका तल्लो दर्जामा प्रहरीले डीएसपी बिदामा बस्दा इन्सपेक्टर पालको आतंक हुने गरेको बताउँछन् । उनले आफू पनि सेकेन्ड हाकीम भएको भन्दै डीएसपी नजिकका भनिएका प्रहरीलाई पेल्ने गरेको त्यहीँका प्रहरीहरु बताउँछन् । उनीहरु भन्छन्,‘डीएसपीसाप बिदा गएको बेला यहाँ त पाल आतंक हुन्छ ।’ उनी पीडीत प्रहरीहरु इन्सपेक्टर पाल प्रहरी भन्दा पनि ‘बर्दीवाल गुन्डा’ भएको बताउँछन् ।

इन्सपेक्टर पाल इन्सपेक्टर मात्रै होइन्,उनी नामुद जुवाडे समेत हुन् । अरु कसैले जुवा खेले प्रहरीले पक्राउगरी मुद्दा चलाउँछ । तर,उनी भने प्रहरी पहरामै जुवा खेल्छन् । त्यो पनि सस्शत्र प्रहरीको पहरामा । इप्रका तुलसीपुर स्रोतका अनुसार उनका जुवा पार्टनर पनि भिआइपी नै छन् । उनीहरु तुलसीपुरको दोघरेस्थित सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प भित्र जुवा खेल्ने गरेका छन् । इन्सपेक्टर पाल निकट स्रोतका अनुसार सशस्त्र प्रहरीको क्याम्पमा पाल सहित अर्का एकजना जनपथकै इन्सपेक्टर,बेसपति सुशील केसी सहित सशस्त्र प्रहरीका अर्का एक इन्सपेक्टर जुवा खेल्ने गरेका छन् ।
उनीहरु मात्रै होइन्,त्यहाँ जुवा खेल्न केसी थरका एक पेट्रोप पम्प संचालक,खड्का थरका एक होटेल संचालक र भण्डारी थरका गाडी काउन्टरका एक कर्मचारी समेत जाने गरेका छन् । यो जुवाको कमान्डर भने इन्सपेक्टर पाल नै भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

पाल निकट स्रोतका अनुसार सशस्त्रको क्याम्प भित्र २० रुपैँया प्वाइन्ट (तास)म्यारिज खेल हुन्छ । त्यहाँ रातीमा मात्रै जुवा चल्ने र एक रातमा कम्तीमा एकलाख रुपैँयाको हारजित हुने गरेको बताइन्छ । सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख इन्सेपेक्टर सुशील केसीले क्याम्प भित्र जुवा नहुने दावी गरे । ‘मलाई सोध्नुभयो त्यस्तो केही हुँदैन ।’ उनले भने,‘साथीभाइले र रमाइलोका लागी धेरै पहिले खेलेका हौँ ।’ उनले आफू कार्यरत हुँदासम्म त्यस्तो केही नहुने बताए । स्रोतका अनुसार गएराती समेत त्यहाँ जुवा भएको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्