काठमाडौ । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित युवतीसँगै कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ मा नेपाल आएका दुईजना युवक उदयपुरको बेलका आइपुगेको खुलेको छ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रमाम ती युवकहरु उदयपुरमा भेटिएका हुन्। उनीहरु काठमाडौंबाट उदयपुर आएर  क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेका छन। उनीहरुलाई ज्वारो पनि आएको छ।

Advertisements

‘यसबारेमा प्रदेश १ का मुख्यमन्त्रीका स्वकीय सचिव, आन्तरिक मामिला मन्त्रालय, स्वास्थ मन्त्रालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई गराइएको छ’, बेलकाका मेयर दुर्गा कुमार थापाले भने, ‘तर सबैले एकले अर्कोलाई जिम्मा दिएको भनेर पन्छिएका छन्।’
सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। बेलका नगरपालिकाका ती दुई युवाहरुलाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको मेयर थापाले बताए।

उनीहरुलाई घरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँगै आएकाहरुको खोजी सुरु भएको थियो।

बेलका नगरपालिकाले खोजी गर्दा ती युवाहरु घरमै रहेको पाइएको छ। उनीसँगै आएकी काठमाडौंकी संक्रमित किशोरीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। यसअघि बाग्लुङ र काभ्रेबाट पनि तीनजना सम्पर्कमा आएका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्