काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदले (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी खेलाडीको पुरस्कार रकम ३ दिन भित्र उपलव्ध गराउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै जारि लकडाउनकाबीच खेलाडीहरुको पुरस्कार उनीहरुको व्यक्तिगत खातामा राख्ने तयारि भइरहेको राखेपले बतायो ।

Advertisements

राखेप सदस्यसचिव रमेश सिलवालले पदक विजेताहरुको पुरस्कार केहीदिन भित्रैमा जम्मा गर्ने र त्यसका लागि ३ दिन समय लाग्ने बताए ।

सदस्यसचिव सिलवालले भने, “सागको पुरस्कार रकम तीन दिन भित्र जम्मागर्ने तयारि भएको छ, केही समस्या आइपरे हामी थप २ दिन समय लिएर चैत्र महिनाभरीमा रकम उपलव्ध गराउनेछौँ ।”

‘साग पदक विजेताको पुरस्कार राशि घोषणा गरेको लामो समय भईसक्यो । दिने भनेको पनि थुप्रै पटक दोहोरिसक्यो, त्यसैले अब तीन दिनभित्र सबैको बैंक खाता खातामा जम्मा गर्ने योजनामा छौ । केही गरी भएन भने चैतभित्र जसरी पनि खातामा हालिसक्छौ, ढुक्क हुनुहोस्’, सिलवालले प्रष्ट पारे ।

‘खेलाडीलाई पुरस्कार रकम दिने लामो योजना हो, कोरोनाको संक्रमणले यसलाई प्रभावित बनायो’। सिलवालले भने ।

१३औं सागका विभिन्न पदक विजेतालाई सरकारले पुरस्कार राशिको घोषणा गरेको थुप्रै भयो । सरकारले सागमा व्यक्तिगत स्पर्धाका स्वर्ण पदक विजेतालाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने तय गरेको थियो । यस्तै एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख वितरण गरिने सरकारको घोषणामा छ । यता टिम ईभेन्टतर्फ स्वर्णका लागि ६ लाख ,रजतका लागि ४ लाख तथा र कास्यका लागि २ लाख रुपैया दिईने बताईएको छ । प्रशिक्षकहरुको निम्ति पनि पुरस्कार राशि घोषित छ । स्वर्ण जिताउने मुख्य प्रशिक्षकलाई ५ लाख, रजत ३ र कास्यलाई २ लाख दिने भनिएको छ । यस्तै,सहायक प्रशिक्षकमा स्वर्ण विजेतालाई ३ लाख, रजत २ लाख र कास्यलाई १ लाख दिने उल्लेख गरिएको छ ।

कोरोनाका कारण कार्यालय बन्द भएपनि आन्तरिक रुपमा खेलाडीको खातामा पैसा जम्मा गर्ने योजना रहेको उनले सुनाए ।

पुरस्कारसँगै खेलाडीहरुलाई कोरोनाको कारण प्रभावित हुनपरे सहयोगगर्ने लगायतका बिषयमा पनि छलफल भइरहेको सिलवालले बताए ।

देशभरका खेलाडीलाई कोरोनाले कस्तो असर गरेको छ त्यस बारे बुझेर उनीहरुको समस्या समाधानमा राखेपले साहयता गर्ने तयारि गरेको छ । जसका लागि देशभर सहजिकरणको प्रयास भइररहेको उनले बताए ।

खेलकुद क्षेत्रलाई नेतृत्व गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही राहत वितरणको योजना छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो योजना त केही छैन,तर हामी खेलकुद क्षेत्रमा लाग्नु भएकाहरुको स्वास्थ्य अवस्था र केही गाह्रो साह्रो परेको छ छैन भन्ने विवरण संकलन गरिरहेका छौ ।

सिलवालले सरकारको लकडाउनको घोषणा पालना गर्न र संक्रमणको त्रास कम गर्न सबै नेपालीलाई अपिल समेत गरे ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्