दाङ ।  लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजले दाङमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। शान्ति समाजले कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न माग गर्दै मंगलबार बिहान साँढे ७ बजेदेखि ८ बजेसम्म तुलसीपुरमा प्रर्दशन गरेको हो।

Advertisements

शान्ति समाजका  महासचिव सुशील बस्नेतले नेपाली भूभागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपूर्ण तवरमा कूटनीतिक र राजनीतिक पहल तीव्र बनाउन नेपाल सरकारलाई आग्रह गरे। तर नेपाल सरकारले चासो नदिइएको भन्दै समाजका महासचिव बस्नेतले असन्तुष्टि जनाए। नेपाल सरकारले कूटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी स्वेतपत्र जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले आग्रह गरे।

शान्ति समाज दाङ शाखाको आयोजनमा गरिएको शान्तिपूर्ण प्रदर्शन कार्यक्रममा शान्ति समाजका पूर्वकेन्द्रीय उपसभापति मोहन धितालले नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय देशव्यापी विरोध कार्यक्रम गर्नुपर्ने बताए।  त्यसैगरी शान्ति समाज रुपन्देही शाखाले सोमबार बुटवलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो भने केन्द्रीय कार्यसमितिले मंगलबार मध्याह्न १२ बजे राजधानीस्थित भारतीय दूतावास अगाडि शान्तिपूर्ण विरोध प्रर्दशन गर्ने जनाएकाे थियाे।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्