कञ्चनपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाममा लागि स्थानीय बासिन्दामा साबुन पानीले मिचिमिचि हात धुने बानीको विकास भएपछि कञ्चनपुरका स्वास्थ्य चौकीमा सरुवा रोगका बिरामीको संख्यामा निकै कमी आएको छ।

Advertisements

स्थानीय बासिन्दालाई साबुन पानीले हात धुने तरिका सिकाउने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिएपछि झाडापखाला, स्वासप्रश्वास, मौसमी फ्लुका रुपमा रहेको भाइरल ज्वरो, रुघाखोकी र छाला तथा आँखा पाक्ने लगायतका रोगको संक्रमणमा निकै कमी आएको पाइएको हो। गर्मीको मौसम सुरू भएसँगै स्वास्थ्य चौकीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप निकै बढ्दो रुपमा रहने गरेको थियो। हाल मौसमी फ्लु (इन्फ्लुन्जा)का बिरामीको संख्या ह्वात्तै घटेको छ। स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीमा सरुवा रोगका बिरामीको संख्या एक दुई जनाको संख्यामा मात्रै रहने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ। जारी बन्दाबन्दीका कारण वातावरणीय प्रदुषण कम हुँदा, मानिसहरुको आवतजावत हुने क्रम रोकिँदा र हात धुने बानीको विकासले सरुवा रोगको संक्रमणमा कमी आएको लालझाडी गाँउपालिकास्थित देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले बताए।

‘गर्मीका महिना सुरू नहुदै स्वास्थ्य चौकीमा भाइरल ज्वरोका बिरामीको चाप थेग्नै नसक्ने हुन्थ्यो,’ उनले भने, ‘सावुन पानीले हात धुने बानीको विकासले भाइरल ज्वरो लगायत सरुवा रोगका बिरामीको संख्या निकै न्यून अवस्थामा रहेको छ।’ उनका अनुसार हालसम्म मौसमी फ्लुका छ देखि १० जनाको हाराहारीमा स्वास्थ्य चौकीमा बिरामी पुग्ने गरेका छन्‌‌। हात धुने बानीको विकासले झाडापखाला हुने बिरामी ७०, स्वासप्रश्वासका ५० प्रतिशत बढी बिरामी कम भएको उनको भनाई छ। स्थानीय तहदेखि सामुदायिक वन र संघ संस्थाहरुले स्थानीय बासिन्दामा हात धुने बानीको विकास गर्नका लागि सचेतना फैलाउने कार्यसँगै निःशुल्क साबुन बाँड्‌ने कार्य समेत गरेका छन्‌।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्