काठमाडौँ । स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिन थालेकाले विशेषज्ञहरुले अस्पताल तथा स्वास्थ्यकर्मीलाई उच्च सावधानी अपनाउन सुझाव दिएका छन् । उनीहरुले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ख्याल नगरी अव्यवस्थित, अनियन्त्रित उपचार प्रक्रिया अघि बढाउँदा हाल अस्पताल र स्वास्थ्यकर्मीहरु नै कोराना भाइरस संक्रमणको स्रोत हुने जोखिम बढेको विश्लेषण गरेका छन् ।

Advertisements

स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आएका वा बिरामी कुरुवाको भीड नियन्त्रण गर्ने प्रभावकारी कदम चालिएको देखिँदैन । अस्पताल, मेडिकल कलेज, स्वास्थ्य चौकी आदिले संक्रमण नियन्त्रण समिति बनाएका छैनन् भने बनेकाहरुको सक्रियता पनि न्यून छ । जसका कारण स्वास्थ्य संस्थाबाट संक्रमण फैलिने जोखिम बढेको हो । हाल कपिलवस्तुमा एक जना नर्सलाई संक्रमण देखिएको छ ।

‘हामीले अस्पताल खोल्यौं तर पूर्वतयारीको अभावमा अस्पताल र स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको स्रोत हुन सक्ने जोखिम बढयो,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने । उनका अनुसार कोरोनाको लक्षण नदेखिने (एसिम्प्टोम्याटिक) वा मधुरो (माइल्ड) लक्षण भएका बिरामी बढी हुनुले समेत संक्रमितबाट स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीबाट उपचारका लागि आएका अन्य बिरामीमा रोग सर्ने जोखिम बढेको हो ।

कोभिड महामारीको अवस्थामा स्वास्थ्य संस्था तथा निकायहरुले अपनाउनुपर्ने सुरक्षा व्यवस्था प्रभावकारी नभएको विज्ञहरुको भनाइ छ । संक्रमित भएका स्वास्थ्यकर्मीहरुलाई दुई साता आइसोलेसनमा राख्नुपर्दा स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुने अवस्था छ । ‘स्वास्थ्यकर्मीबाट बिरामी वा बिरामीबाट स्वास्थ्यकर्मी संक्रमित हुदा अन्तत: दोहरो मारमा बिरामी नै पर्ने छन्,’ डा. कार्की भन्छन्, ‘राज्य र स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीसँगै बिरामी कोरोना संक्रमित नहुने अवस्था बनाउनुपर्छ । यसका लागि राज्यले स्वास्थ्यकर्मीलाई गुणस्तरीय सुरक्षा सामग्रीको निर्बाध आपूर्तिको व्यवस्था गर्नुपर्छ ।’

उनले स्वास्थ्य संस्थाहरुमा सामान्य उपचारका लागि आउने बिरामीलाई टाइम कार्ड दिएर सामाजिक दूरी पालना गर्न लगाउँदै स्वास्थ्य सेवा नदिए भविष्यमा कोरोना संक्रमणको स्रोत अस्पताल र स्वास्थ्यकर्मी नै हुने चेतावनी दिए । स्वास्थ्यकर्मीले एक दिनमा सामान्यत: कति बिरामी हेर्ने, कसरी बिरामीको व्यवस्थापन गर्ने, बिरामीसँग अधिकतम् प्रत्यक्ष सम्पर्कबिना कसरी सेवा दिने भन्नेमा सचेत हुनुपर्नेमा उनले जोड दिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्