काठमाडौँ — गृह मन्त्रालयका कर्मचारीको मोबाइलमा बुधबार दिउँसो पौने २ बजे एउटा ‘सनसनीपूर्ण’ सन्देश (एसएमएस) आयो । जसमा सोमबार चीन–भारत सीमावर्ती लद्दाखको गलवान इलाकामा भएको दुई देशका सैनिकबीचको हिंसात्मक घटनालाई संकेत गरी सन्देश प्रवाह गरिएको थियो ।

Advertisements

सन्देश नेपाली अक्षरमा थियो । अन्तिममा अंग्रेजी अक्षरमा ‘गभर्मेन्ट अफ नेपाल’ लेखिएको थियो । सन्देशको सार यस्तो छ, ‘क्षेत्रीय शान्ति स्थापनाका लागि एकपक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ ।’ कूटनीतिक रूपमा असर पुग्ने खालको एसएमएस सचिवदेखि मन्त्रालयका सबै कर्मचारीको मोबाइलमा पुगेको हो ।

म्यासेज पाउनेबित्तिकै मन्त्रालयका ‘प्राविधिक कर्मचारी’ बोलाएर एसएसएस सेवा प्रणाली बन्द गर्न लगाइयो । तत्कालै उक्त प्रणालीको पासवर्ड पनि परिवर्तन गरियो । त्यसपछि गृह मन्त्रालयले एसएमएस सेवा हयाक भएको विषयमा विज्ञप्ति जारी गर्दै छानबिन गर्न प्रहरी प्रधान कार्यालयमार्फत साइबर ब्युरोलाई जिम्मा दिइयो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनधिकृत रूपमा एसएमएस सेवा ह्याक गरी गलत सन्देश प्रवाह गरिएको र यसको छानबिन सुरु भइसकेको बताए । गृहको ‘एसएमएस सिस्टम’ हयाक गरेको विषयमा ब्युरोले प्रहरी निरीक्षक प्रवीण ताम्राकारको नेतृत्वमा अनुसन्धान सुरु गरेको स्रोतले बतायो । बिहीबार दिनभर अनुसन्धान टोली मन्त्रालयमा पुगेर ह्याक गरिएको घटना र एसएमएस प्रवाहबारे जानकारी लिएको छ ।

स्रोतका अनुसार एसएमएस ह्याक गरी नेपाली अक्षरमा अनधिकृत रूपमा सन्देश प्रवाह गरिएको र सन्देश पनि सिलसिलेवार रूपमा नमिलेका कारण घटनामा भारतीय ह्याकरको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भीपीएन) प्रयोग गरेर एसएमएस सेवा प्रणाली हयाक गरिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘भीपीएन नेटवर्क पेइड वा फ्री कुन प्रयोग गरिएको छ भन्नेबारे प्राविधिक अनुसन्धान भइरहेको छ, हयाक गर्नेको छिट्टै पहिचान हुन्छ ।’ पेइड भीपीएन प्रयोग भएको अवस्थामा अनुसन्धान सहज हुने एक प्रहरी अधिकारीले जानकारी दिए ।

भारतले दार्चुलाको कालापानी, लिपुलेक क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी तिब्बतको मानसरोवरसम्म जाने बाटो खनेपछि सरकारले आपत्ति जनाउँदै नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्‍यो । यसलाई लिएर नेपाल र भारतीय ह्याकर सक्रिय भएका सुरक्षा अधिकारीहरु बताउँछन् । यही मेसोमा लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सेनाबीच हिंसात्मक घटना लक्षित गृहकै एसएमएस प्रणाली दुरुपयोग गरेर भारतीय पक्षलाई समेत एसएमएस प्रवाह भएको हो ।

यस घटनापछि अन्य सरकारी निकायको सर्भरमा पनि उच्च सतर्कता अपनाउन र साइबर सुरक्षामा ध्यान दिन आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्