मधु शाही र रुपा गहतराज

Advertisements

बाँके । आकाशमा कालो बादल मडारिँदै थियो । नरैनापुर गाउँपालिका–५ भगवानपुरकी नाजिया नुरीले बल्दै गरेको चुलोतिर हत्तपत्त हेरिन् । मुसुरोको दाल कसौंडीमा हालिन् । जतिसक्दो छिटो पकाउने तरखरमा थिइन् ।

पानी पर्‍यो भने छानो चुहिएर चुलो चिसिन्छ । दिनभरि पानी परे नजिकै राप्तीको बहाव भान्साभित्रै पस्छ । त्यसैले १६ वर्षीया नुरीले मंगलबार दिउँसो २ बजे खाना पकाउँदै थिइन् । ‘पानी नपर्दै काँचो र पाकेको जे छ, हतारमा खाइहाल्नुपर्छ,’ उनले भनिन्, ‘भगवानपुरका बासिन्दाको यही बाध्यता छ ।’ मौसम हेरेर चुलो बाल्नुपर्ने, नदीको बहाव हेरेर निदाउनुपर्ने नियति छ । ‘काँचो पाकेको जे हुन्छ, त्यही खाइहाल्नुपर्छ,’ उनले भनिन्, ‘बादल हेरेर कति पानी पर्ला भन्दै हतारहतार खाना बनाउनुपर्छ ।’

उनको जस्तै नरैनापुर गाउँपालिकाका राप्ती नदी छेउछाउ बस्नेहरूको खाने र सुत्ने समय बिथोलिएको छ । कोरोना संक्रमणबाट उम्किन नपाउँदै यहाँका बासिन्दालाई डुबानमा पर्ने त्रास सुरु भएको छ । बर्सेनि बाढीको समस्या हुन्छ । उनीहरूका लागि यो नियतिजस्तै हो । स्थानीय गंगापुरको छेउमै राप्ती नदी सुसाइरहेको छ । तीन दिनअघि परेको पानीले राप्तीको बहाव बढेर यहाँका गंगापुर, भोजभगवानपुर, जमुनी, टेपरीलगायत गाउँका घरहरूको आँगनमा बाढी पुगिसकेको छ । तीन दिनअघि नाजियाको घरभित्रै बाढी पस्यो । त्यसबाट क्षति त भएन, तर नाजियाको परिवार भने रातभर जाग्राम बस्नुपर्‍यो । आमाबुबासहित नौ जनाले रातभरि घरका सामान रुँघे । प्रत्येक वर्षामा उनीहरूको छाप्रोको घर डुबानमा पर्छ । उनकी छिमेकी सवेरा मुखेरीले दिउँसो २ बजे नै खाना खाइसकेकी थिइन् । गत वर्ष आएको बाढीले जमिनको आधा भाग काटेर लगिसकेको छ । स्थानीयले मिलेर बाँस जोडेर नदीमा बाँध लगाएका छन् । त्यो पनि नदीले कटान गरेर घरसम्मै पुगेको सवेराले सुनाइन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्