
काठमाण्डौ । बाह्रखरी कथा प्रतियोगिता २०७७ विवादमा परेको छ। विवादका कारण प्रतियोगिताका संयोजक तथा चर्चित कथाकार राजेन्द्र पराजुलीले बाह्रखरी बुक्सको सम्पादक पदबाट राजिनामा दिएका छन्।

फेसबुकमार्फत कथाकार पराजुलीले बाह्रखरीसँगको आफ्नो सहकार्य सकिएको जानकारी दिएका छन्। मूल कारण भने उनले खुलाएका छैनन्। कथा प्रतियोगिताको विवादकै कारण उनले राजिनामा दिएको स्रोतले जनाएको छ।

बाह्रखरी डटकमका समाचार सम्पादकसमेत रहेका पराजुलीले राजिनामा दिनुको अर्को कारणका रूपमा भने कम्पनीले कोरोनाका कारण कर्मचारीको तलब कटाैती गर्न थालेपछि सोको विरोधस्वरूप राजिनामा दिएको बताइएको छ। तर प्रतियोगिताको चर्को आलोचना हुनु र पराजुलीको राजिनामा आउनु एक साथ भएपछि उनको राजिनामालाइ प्रतियोगिताकै विवादसँग जोडिएको हो।
प्रतियोगितामा सहभागी कथाहरूमध्ये प्रथम चुनिएको कथा ‘लार’ले प्रतियोगिताको नियम लत्याए पनि त्यसलाई प्रथम बनाइएपछि विवाद चुलिएको थियो। कथाकार मुना चौधरीले सो कथाको शीर्षक परिवर्तन गरी नागरिकन्युजडटकममा पठाएकी थिइन्। सो कथा ‘पुआर’ शीर्षकमा गएको जेठ ३१ गते छापिएको थियो।
यसको ठीक आठ दिनपछि उनको सोही कथा सर्वोत्कृष्ट घोषित गरिएको थियो।

नागरिक दैनिकका पूर्व पत्रकार खिलक बुढाथोकीले फेसबुकमार्फत यो कुराको खुलासा गरेपछि कथाकार मुना चौधरीले बदमासी गरेको खुलासा भए पनि नैतिकताका आधारमा पराजुलीले राजिनामा दिएका हुन्।

