रेशम खड्का

तुलसीपुर आइपुग्दा सायद तपाईंले पहिलो अभिव्यक्ति दिनुभएको थियो, यो लकडाउन कि कुम्भ मेला । त्यहीबेला सरकारले लकडाउनलाई केही खुकुलो बनाई दैनिक जनजीविकालाई चलायमान बनाउने प्रयास गरिरहेको थियो । तुलसीपुरमा पनि अत्यावश्यक पसलहरु सञ्चालनमा आउँदै थिए । बैंक तथा वित्तीय संस्थाहरु पनि हप्ताभरि नै चल्न थालेका थिए । मालपोत र नापीलगायत स्थानीय तहहरु पनि चलायमान थिए ।

Advertisements

कोरोना भाइरसको संक्रमणको जोखिमको चिन्ता तपाईंलाई जति छ, त्यो मलाई पनि छ । म पनि सामान्य स्वास्थ्य बुझेको विद्यार्थी पनि हुँ । लकडाउनको समय एका–एक परिवर्तन गरियो ।

तुलसीपुर उद्योग वाणिज्य संघ र स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुरको बजार दिनको १२ बजेसम्म मात्र सञ्चालनमा आउने, मैले त्यसलाई सहर्ष स्वीकार गरेको पनि थिएँ । जनताका विद्युत बिल अनलाइन सेवाबाट तिरिदिने, उनीहरुलाई मोवाइलमा पैसा रिचार्ज गरिदिनेलगायत ई–बैंकिङ सेवामा पनि मैले काम गर्दै आएको छु । त्यसका लागि मोवाइल विक्री तथा मर्मत पसल पनि मेरो प्लेटफर्म हो ।

हो, लकडाउनका समयमा सामाजिक भीडभाडलाई ख्याल गर्नुपर्छ भन्ने मैले बुझेको पनि छु । विद्युतको बिल भुक्तानी होस् वा मोवाइलमा रिचार्ज गर्ने र टिभीमा रिचार्ज गर्ने काम पनि यसै प्लेटफर्मबाट गर्दै आएको छु । यो काममा मलाई नेपाल राष्ट्र बैंकले इजाजत पनि दिएको छ ।
हो, मैले स्थानीय सरकार र तुलसीपुर उद्योग वाणिज्य संघको निर्णयलाई पनि पालना गरेकै थिएँ ।

त्यसैले बन्द सटरमा मैले मोवाइल मर्मत र विद्युतको बिल भुक्तानी गर्दै थिएँ । बाहिर कुनै ग्राहक झुम्मिएको अवस्था पनि थिएन । तर एकाएक प्रहरी आएर सटर हान्न थाले । मैले सटर खोल्दा ईप्रका तुलसीपुरका सुरक्षाकर्मी भ्यान लिएर आएका रहेछन् । मलाई भ्यानमा बसाएर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा लगियो । यो असार ८ गतेको घटना थियो ।

कार्यालयमा पुग्नु अघि मेरो मोवाइल फोन समेत सुरक्षाकर्मीकै नियन्त्रणमा पुग्यो । प्रहरी कार्यालय पुगेपछि मैले न त इन्स्पेक्टरलाई मेरो कुरा राख्न पाएँ न त डिएसपी सापलाई नै कुरा राख्न पाएँ । बन्द सटरमा एक्लै काम गर्नु लकडाउन उल्लङ्घन गरेको हो वा बन्द सटर खोलेर मलाई भ्यानमा राखेर प्रहरी कार्यालयमा लगेर ४ घण्टा थुन्नु तपाईका सुरक्षाकर्मीको लकडाउन उल्लङ्घन ? मैले बुझ्न सकेको छैन ।

लकडाउनको मर्म र भावना मैले अब स्थानीय सरकार, उद्योग वाणिज्य संघबाट होइन, सुरक्षाकर्मीबाट बुझ्न चाहेको छु । कृपया झर्को नमानिकन यसै अनलाइन पत्रिकामार्फत् तपाईंको लकडाउन मिसन र भिजन सार्वजनिक गरिदिनुहोला ।

रेशम मोवाइल तथा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ई–सेवा
तुलसीपुर दाङ

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्