टीकाराम उदासी

१.होम क्वारिन्टन

Advertisements

विश्वभर कोरोनाको महामारी फैलिएपछि नेपालको एउटा गरिब नागरिक बलबहादुर पनि आफ्नो पुस्तैनी रोजीरोटीस्थल भारतमै थुनियो । भारतले लकडाउन खोलेपछि रुपैडियाको नाका भएर बलबहादुर देशभित्र पस्यो । नियमपूर्वक पन्ध्र दिन सरकारले बनाएको क्वारिन्टनमा रहेपछि एक दिन उसको पनि कोरोना टेस्ट भयो । टेस्ट नेगेटिभ देखिएपछि ऊ क्वारिन्टनमुक्त भयो ।
विदा गर्दा उसलाई भनियो — घर गएर कम्तीमा सात दिन अलगै कोठामा बस्नू, अलगै शौचालय प्रयोग गर्नू, पौप्टिक आहार खानू, सबैसँग भौतिक दूरी कायम गर्नू ……आदि ।
अहिले ऊ आफ्नो गाउँ पुग्ने बाटोमै लखरलखर हिंडिरहेको छ । अहिलेसम्म उसको आफ्नो घर छैन । बजारको किनारमा डेरा गरेको धेरै भयो उसले । डेरा अझै एउटै कोठामा सीमित छ— जसमा उसका दुई छोरा, एक छोरी र श्रीमती गरी आफूबाहेक चार जनाको परिवार बसेका छन् ।
२. होम ट्युसन
बाह्र कक्षा उत्तीर्ण गरेपछि रमेश गाउँबाट सहर पस्यो । डेराको बन्दोवस्त र कलेजको भर्नाले घरबाट लगेको पैसा लगभग सकियो । सहरमा बसेर जागिर खाँदै गरेका मामाले कुरा गरिदिएपछि बाँच्नकै लागि पनि एउटा घरमा उसले होम ट्युसन पढाउनुपर्ने भयो । विद्यार्थीको अति व्यस्त व्यापारी बुवाले आग्रह ग¥यो — सर, छोरोलाई धेरै प्रेसरमा नपढाउनुहोला, उसले भनेअनुसार नै गरिदिनुहोला ।
पढाउन गएको पहिलो दिन उसले सुन्यो —सर, आज अरु नपढ्ने है, मेरो होमवर्क राम्रो अक्षरमा गरिदिनुस् । म फेसबुकमा च्याट गर्दै छु ।
उसले भनेअनुसार नै विद्यार्थीको होमवर्क गरिदियो ।
उसले दोस्रो दिन सुन्यो —सर, मेरो दशैतिहारको नोट नै अझै सकिएको छैन, सारिदिनुस् है । स्कुलमा गाली खाइन्छ । विदामा आफू त घुम्नै ठिक्क भयो ।
उसले पनि भनेअनुसार केही दिन विद्यार्थीको नोट सारिदियो ।
केही दिनपछि उसले फेरि सुन्यो — सर, मेरो प्रोजेक्ट वर्क गरिदिनुस् है, मलाई त गर्नै आउँदैन ।
उसले फेरि त्यसै ग¥यो । महिना दिन पुगेपछि उसले ट्युसन शुल्क बुझ्यो अनि कोठा भाडा बुझायो ।
अर्को महिनादेखि फेरि उसको होम ट्युसन यसरी नै यथावत् चलिरह्यो ।

साभार : नयाँ युगबोध राष्ट्रिय दैनिक

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्