काठमाडौँ — नागरिकतासम्बन्धी कसुरको सजायलाई कठोर बनाउन लागिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा कसुरसम्बन्धी व्यवस्थामा दण्ड–सजाय बढाएको छ ।

Advertisements

विधेयक संसद्‍बाट जस्ताको तस्तै पारित भए नागरिकता विषयमा कसुर गरेको प्रमाणित भएको व्यक्तिले जरिवाना र कैद दुवै सजाय भोग्नुपर्नेछ । अहिलेको कानुनमा कसुरदार व्यक्तिले जरिवाना वा कैदमध्ये एउटा मात्रै सजाय पाउने व्यवस्था छ ।

नागरिकता ऐन, २०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झूटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरे एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय दिने व्यवस्था छ । कसुरदारले कस्तो सजाय पाउने तजबिजी न्यायाधीशको हुनेछ । तर विधेयकमा त्यही कसुर प्रमाणित भए सम्बन्धित व्यक्तिले न्यूनतम ५ वर्ष कैद र ३ लाख जरिवाना तिर्नुपर्ने प्रावधान छ । झूटा विवरण दिई नेपाली नागरिकता लिएका विदेशीका लागि ५ वर्षदेखि ७ वर्षसम्मको कैद र ३ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको सजाय प्रस्ताव गरिएको छ ।

नागरिकता ऐन, २०६३ को दण्ड सजायको महलमा रहेको जरिवाना वा कैद वा दुवै सजायको व्यवस्था भनिएकामा सबैमा जरिवाना र कैद दुवै बनाइएको छ । कैद र जरिवानाको न्यूनतम सीमा पनि बढाइएको छ । गृह मन्त्रालयले प्रस्ताव गरेको नागरिकता ऐन संशोधन विधेयकमा कसुरको दायरा बढाइए पनि सजायमा भने ‘वा’ ‘वा’ नै राखिएको थियो । समितिले सजायसम्बन्धी धेरैजसो दफाबाट ‘वा’ अक्षर हटाएको छ ।

नागरिकता विधेयकका विवादित विषयमध्ये दण्ड र सजायका प्रावधान पनि थिए । विवादित विषय समाधान गर्न राज्य व्यवस्था समितिले बनाएको उपसमितिका संयोजक सांसद विजय सुब्बाले कमजोर दण्ड सजायका कारण नागरिकताको बढी दुरुपयोग हुन पुगेको निष्कर्षका आधारमा फेरबदल गरिएको बताए । ‘नागरिकता अत्यन्तै संवेदनशील विषय हो, यसमा थोरै वा नाम मात्रको सजाय तोकेर हुँदैन भन्ने निष्कर्षका आधारमा त्यसलाई वृद्धि गरिएको हो,’ उनले भने, ‘एकै खालका कसुरमा एउटा न्यायाधीशबाट कम र अर्को न्यायाधीशबाट बढी सजाय पनि हुँदै आएको थियो । वा अक्षरका कारण न्यायाधीशले पाउने तजबिजी अधिकारलाई हटाउन त्यसलाई र बनाइएको हो ।’

सुब्बाले झूटा विवरण दिएर नागरिकता लिने, दिने, सिफारिस गर्ने सबैलाई कसुरदार ठहर्‍याउने व्यवस्था गरिएको बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्