राजविराज — कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएका राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धकाे परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुटुमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ती वृद्धको कोरोना संक्रमण परीक्षणको रिर्पोट साउन १ गते साँझ आएको र सोही राति नै उनको मृत्यु भएको थियो ।

Advertisements

मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी २३ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये उनको परिवारका २ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जनाएका छन् । उनको पसलमा काम गर्ने अन्य १६ जनाको रिर्पोट आइनसकेको यादवले बताए ।

लकडाउन सुरु हुनुभन्दा अगाडि नै उपचारका लागि दिल्ली गएका ती वृद्ध लडकाउनकै अवधिमा दिल्लीबाट बिहारको दरभंगामा आएर बसेका थिए । १३ दिनअघि मात्र नेपाल आएका उनी क्वारेन्टाइनमा नगएर घरमै ‘होम क्वारेन्टाइन’ बस्दै आएका थिए ।

स्वास्थ्य प्रमुख यादवका अनुसार आइतबार मात्र सप्तरीमा ११ जना संक्रमित थपिएका छन् । यो समेत जिल्लामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु हुनाका साथै ३ सय ७७ जना संक्रमित भएको र २ सय जना निको भएर घर फर्किसकेका छन् ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्