पोखरा — पोखरा लामाचौरकी लक्ष्मी विक शुक्रबारदेखि अचेत छिन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखमा त्यही दिन बिहान आएको पहिरोले उनकी १६ वर्षीया छोरी रेजिनालाई पुर्‍यो । साथमै सुतिरहेका १६ वर्षीय कुशल विक र १२ वर्षीय समीर विकले पनि ज्यान गुमाए । छोरी गुमाएको खबर सुनेदेखि अचेत भएकी लक्ष्मी घरीघरी ब्युँझन्छिन् । ब्युँझिँदा रुवाबासी चल्छ । रुँदारुँदै फेरि अचेत हुन्छिन् ।

Advertisements

खोराको मुख पाखामा झुरुप्प छ, दलित बस्ती । जहाँ १६ दलित, २ गुरुङ र १ ब्राह्मणको घर छ । बस्तीको सबैभन्दा माथिपट्टि छ प्रेमराज विकको घर । रक्त क्यान्सरले ५ वर्षदेखि थलिएका उनी श्रीमती, कान्छा छोरा खेमराज, बुहारी मीठु, नाति समीर र शिवसँग बस्दै आएका थिए । जेठो छोरा छुट्टिएर लामाचौर र माइलो छोरा हेमजामा बस्दै आएका छन् । जेठो छोराबुहारी हीरालाल र लक्ष्मीकी छोरी रेजिना लकडाउनयता धेरै समय बाजेबज्यैसँगै बसिन् । साउने संक्रान्तिको ५ दिनअघि मात्रै हेमजाबाट गएका थिए माइलो छोरा कृष्णबहादुरका छोरा कुशल । सानो छोरा शिवलाई लिएर कान्छी बुहारी मीठु संक्रान्तिको अघिल्लो दिन नै माइत हिँडेकी थिइन् । छोरा घरमा थिएनन् । संक्रान्तिमा नातिनातिना भेला भएपछि प्रेमराजको घरमा उल्लास थियो ।

सेलरोटीलगायत मीठोमसिनो खाएर प्रेमराज, उनकी श्रीमती र पाहुना आएकी साली मूलघरमा सुते । अर्कोपट्टि कोठीमा तीन नातिनातिना सुते । भोलिपल्ट बिहान साढे ५ बजेतिर एक्कासि ठूलो आवाज आयो । श्रीमती र सालीलाई उठाएर प्रेमराज बाहिर निस्किए । घरमाथिबाट पाखुरीको मुढो गुल्टिँदै आएको देखे । उनी चिच्याउन नपाउँदै ढुंगामुढासहितको पहिरो नातिनातिना सुतेको कोठीमा खस्यो । घरको काठ खसेर उनलाई आँगनतिर हुत्याइदियो । सुतिरहेका तीन नातिनातिनाले बिहान देख्न पाएनन् । प्रेमराजका आँखैअघि उनीहरुलाई पहिरोले पुर्‍यो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्