काठमाडौं । अन्नबालीका लागि रासायानिक मल हाहाकार हुँदा पनि आपूर्तिको ठेक्का पाएका ठेकेदार शारदाप्रसाद अधिकारी कानमा तेल हालेर बसेका छन् ।

Advertisements

समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम उनको कमपनी शैलुङ कन्स्ट्रक्सले केही महिना अघि रासायनिक मलका लागि २ अर्ब १४ करोड रुपैया ठेक्का पाएका थिए ।

बालीनाली मल नभएर बिजोग अवस्था हुँदा पनि ठेकेदार अधिकारी भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)कै आसपास घुमेर बसिरहेका छन् । उनलाई समयमा मल पुर्याई आफ्नो जिम्मेवारी पूरा गर्ने तर्फ कुनै मतलब छैन । अधिकारी तिनै ठेकेदार हुन् जो खुमलटारस्थित प्रचण्ड निवासका घरबेटी समेत हुन् ।

प्रचण्डको दबाबमा अर्बौंको सडक, पुलको ठेक्का लिने, निश्चित प्रतिशत पैसा पहिले नै बुझ्ने र काम नगरी नयाँ ठेक्का हत्याउने ठेकेदारका रुपमा अधिकारी यसअघि नै विवादमा तानिएका छन् ।

अख्तियारप्राप्त निकायले कारवाहीका लागि पटकौं प्रयास गर्दा पनि अध्यक्ष प्रचण्डकै आड र दबाबमा सबै रोकिएका छन् ।
पछिल्लो पटक भने अधिकारी मल विवादमा परेका छन् । यसले प्रचण्डलाई समेत विवादमा तानेको छ ।

शैलुङ कन्स्ट्रक्सन अन्तर्गतकै शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच साँढे पाँच लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको थियो।

शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कम्पनीका एक अधिकारीले खुलानेपाललाई जानकारी दिए ।

‘ठेक्का पाएको महिनौं बितिसक्यो । मल आपूर्ति भएको छैन । हामीले कैयौं पटक ताकेता गरिसकेका छौं । केही जोड चलेको छैन, ती अधिकारीले भने ।

यो प्रकरणमा कृषि मन्त्रालय र कृषि सामग्री कम्पनीका उच्च अधिकारी नै संलग्न रहेको बुझिएको छ । कृषि मन्त्री घनश्याम भूसालको शंकास्पद भूमिका रहेको मन्त्रालयका एक सहसचिव बताउँछन् ।

अनुभव नै नरहेको अधिकारीको कम्पनीलाई  ठेक्का दिइएको थियो ।

गत फागुनमा भएको ठेक्का सम्झौता अनुसार आपूर्तिका लागि प्रतितपत्र (एलसी) खोलेको ४२ दिनभित्र पहिलो ढुवानी र ७२ दिनभित्र दोस्रो ढुवानी हुनुपर्ने थियो ।

सोही सम्झौतालाई टेकेर कृषि सामग्री कम्पनीले २०७७ वैशाख ३० गते प्रतितपत्र खोलेको थियो । उक्त सम्झौता अनुसार दुवै कम्पनीले असार ८ गतेसम्म पहिलो ढुवानी भइ साउन ३२ गतेभित्र आधा मल तथा साउन ७ गते दोस्रो ढुवानी भई भदौ २० गतेभित्र सबै मल कृषि सामग्री कम्पनीलाई बुझाइसक्नु पर्नेछ ।

अहिले कृषि सामाग्रीले एलसी खोलेको ७० दिनभन्दा हुन लागेको छ । तर अहिलेसम्म आपूर्ति प्रक्रिया अघि बढ्न सकेको छैन । बरु मन्त्रिपरिषद्को निर्णयको हवाला दिँदै ६ महिना म्याद थप्न मन्त्रालयलाई प्रचण्ड दवाव पुगेको छ ।

नेपालमा कुल मल खपतको ३० प्रतिशत मल यही समयमा माग हुने गर्छ । धानबाली विज्ञहरु धान रोप्ने बेलामा डीएपी र पोटास मलको प्रयोग गर्न तथा धान रोपेको १५ दिनदेखि १ महिनाभित्र ‘टप ट्रेसिङ’का लागि युरिया मलको प्रयोग गर्न सिफारिस गर्छन् । तर, युरिया मल सस्तो हुने भएकोले धानबाली लगाउने बेलामा पनि यही मलको माग हुने गरेको छ ।

साउनको पहिलो साता देखिनै किसानले रासायिकन मलको माग गरे । कृषि कार्यालयमा किसानहरुले मलको लागि दवाव पनि दिए । तर, ती किसानको कुरा सत्ता राजनीतिमै रुमलिरहेकाहरुलाई के चासो ?

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्