महेन्द्रनगर । चप्पल, हाफ पाइन्ट, टिसर्ट र मुखमा मास्क लगाई लौरो टेकेर हिँड्दै एकजना व्यक्ति अछाम रामारोशनका बाढीपीडतबीच पुगे। मोटो शरीर भएका ती व्यक्तिका साथमा थिए केहि सुरक्षाकर्मी र सहयोगी।

Advertisements

यसरी धेरै तडक भडकबिना दुर्गम गाउँ पुगेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा अहिले चर्चामा छन्। उनी त्यसरी गाउँ पुग्दाका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्।

मन्त्री बोहरा अछाममा गत मंगलवार राति अबिरल वर्षासँगै आएको बाढीले प्रभावित क्षेत्रको अनुगमनमा पुगेका हुन्।

त्यही क्रममा निकै अप्ठेरो बाटो छिचोल्दै हिडिरहेका तस्बिर धेरैले सामाजिक सञ्जालमा राखेर मन्त्री बोहराको प्रशंसा गरेको देखिन्छ।

यसअघि रामारोशन गाउँपालिकाकै बाढी प्रभावित क्षेत्रको अनुगमनमा हेलिकप्टरबाट गएका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिञ्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्व–उपप्रधान तथा रक्षामन्त्री भीम रावल सहितको जम्बो टोली निकै आलोचित बनेको थियो।

स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेको भनी आलोचना भएको थियो।

अछामको रामारोशन गाउँपालिका–५ को स्थानीय कैलाश खोलामा बस्तीमा पस्दा १७ जना बेपत्ता भएका थिए। तीमध्ये ८ जनाको शव भेटिएको छ भने ९ जना अझै बेपत्ता छन्।

बाढीले त्यहाँका स्थानीयको घर, खेत बगाएर बगरमा परिणत गरेको छ। आफ्नै निर्वाचन क्षेत्रमा पर्ने रामारोशन गाउँपालिका–५ मा बाढीले बितण्डा मच्चाएको दुखद खबर सोहि प्रदेशका मन्त्री बोहराले बुधवार बिहान ५ बजेतिर जानकारी पाए।

त्यसपछि उनी बाढी पीडितहरुको व्यवस्थापन, राहत वितरण तथा उद्धारमा जुटेका हुन्। शनिवार राहत सामग्री लिएर बोहरा, उनको सचिवालयका सदस्य सहित ८ जनाको टोली बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्कियो।

धनगढीबाट गाडीमा गएको मन्त्री बोहराको अनुगमन टोली आइतवार अछाम पुग्यो। त्यसपछि उनी लौरो टेकेर बाढी प्रभावित गाउँ–गाउँ पुगे। बाढीले क्षति पुर्‍याएका घर, बाटोघाटो, कुलो, नहर, विद्युत गृह, सिँचाई, सडक पुल एक–एक गरी अनुगमन गरिरहेको अर्थमन्त्री बोहराका स्वकीय सचिव आदर्श साउँदले बताए।

‘कैलाश खोलाले प्रभावित हरेक ठाउँको अनुगमन गरिरहेका छौँ, पीडितसँग भेटघाट गरेर समस्याहरु बुझिरहेका छौँ,’ उनले  भने, ‘बाढीपहिरो प्रभावित अन्य ठाउँको पनि अनुगमन गर्ने योजना छ।’

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्