काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि पर्याप्त समय पाउँदा पनि सरकारले तयारी नगर्दा मुलुकमा दिनदिनै संक्रमण फैलिइरहेको यसबाट संक्रमित सांसदहरूले बताएका छन् । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संघीय सांसदहरूले सरकारी प्रयास पर्याप्त नभएकाले कोरोनाविरुद्ध जनता आफैं सजग हुनुपर्ने बताएका छन् ।

Advertisements

साउन ३० गते कोरोना पुष्टि भएका जनता समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले कोरोनाविरुद्ध सरकारको दूरगामी सोच र योजना केही नदेखिँदा अहिले दिनदिनै मान्छे मर्ने र संक्रमित हुनेको संख्या बढ्दै गएको बताएका छन् ।

जनकपुरस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेका प्रतिनिधिसभा सदस्य यादवले भने, ‘सरकारले गरेको प्रयास पर्याप्त छैन । सुरुमा नै पूर्वतयारी केही पनि गरेन । हात बाँधेर बसिरह्यो । ‘यो सामान्य हो हाच्छ्यूँ गरेर ठिक हुन्छ’ भनियो । काम गर्ने महिनौंको समय सरकारले त्यसै खेर फाल्यो ।’ कोरोना भाइरसले विश्वका ठूल्ठूला मुलुकमा महामारीको रुप लिइरहेका बेला नेपालको जिम्मेवार राजनीतिक नेतृत्व भने अनावश्यक अभिव्यक्ति दिनमै व्यस्त रहेकाले अहिलेको अवस्था आएको उनको भनाइ थियो ।

‘स्वास्थ्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मका अभिव्यक्तिले यसको प्रतिरोध गर्न कुनै चासो नदेखाएको देखिन्छ । बेसारपानीको कुरा आएका थिए,’ उनले भने, ‘सुरुमा लकडाउन गर्दा नै तयारी गर्नुपर्ने थियो । जाँच गर्ने पीसीआर किट सुरुमा नै ल्याउनुपर्थ्यो । त्यसमा धेरै विवाद र ढिलाई गरियो । भ्रष्टाचारको कुरा पनि भयो । स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गरिएन ।’ डा. यादवले थपे, ‘हामीसँग उपलब्ध भेन्टिलेटर प्रयोगमा ल्याउनका लागि स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिनुपर्थ्यो ।’

कीर्तिपुरमा रहेको आयुर्वेदिक अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा रहेका कोरोना संक्रमित नेकपाका सांसद यज्ञ बोगटीको भनाइ पनि डा. यादवकोसँग मिल्दोजुल्दो छ । सरकारले गरिरहेका प्रयास पर्याप्त नभएको भन्दै उनले जनता आफैंले सचेत हुनुपर्ने बताए । ‘सरकारले लकडाउन गरेकै छ, अरु पनि गर्न खोजेकै छ । तैपनि संक्रमण वृद्धि भइरहेकै छ । सरकारले गरेका काम पर्याप्त नहुन पनि सक्छन् । जनताले आफ्नो रक्षा गर्ने हो,’ उनी भन्छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्