भक्तपुर — जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले होम आइसोलेसनमा राखेकी चार दिनकी सुत्केरीसहितको एक परिवारलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले जबर्जस्ती आइसोलेसन सेन्टर पठाएको पाइएको छ ।

Advertisements

मध्यपुर थिमि नगरपालिका–९ का स्थानीयवासी र जनप्रतिनिधिले संक्रमितलाई घरमा राखेको भन्दै विरोध गरेपछि स्वास्थ्यकर्मीले चार दिन र साढे दुई महिनाका दुई सुत्केरीसहितलाई शुक्रबार खरिपाटीस्थित आइसोलेसन सेन्टरमा पठाएका हुन् । बिहीबार मध्यपुर थिमि नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना देखिएको थियो । संक्रमित हुनेमा सुत्केरीदेखि ७५ वर्षीया वृद्धासम्म छन् । आइसोलेसन सेन्टरमा पुगेका उनीहरूलाई स्याहार नपुग्ने भन्दै शुक्रबार राति नै पुनः घर फिर्ता गरिएको छ ।

‘जनप्रतिनिधि र स्थानीय मिलेर संक्रमित सुत्केरी र वृद्धालाई आइसोलेसन पठाएका रहेछन्, आइसोलेसनमा स्याहार नपुग्ने भएपछि फेरि फर्काइएको छ,’ महानगरीय प्रहरी वृत्त थिमिका डीएसपी ऋषिराम कँडेःलले भने, ‘चार दिनकी सुत्केरीलाई समेत आइसोलेसन पठाइनु मानवीय संवेदना हराएको उदाहरण हो ।’ आफूहरूले वडाध्यक्षलाई फोन गरेर सुत्केरीलाई सहयोग उपलब्ध गराइदिन आग्रह गरेको उनले बताए । उनीहरूलाई आइतबार सहयोग सामग्री प्रदान गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । स्थानीयको दबाबमा स्वास्थ्यकर्मीले सुत्केरीसहित सबै संक्रमितलाई आइसोलेसनमा पठाएको उनले बताए । ‘तिमीहरू आइसोलेसनमा जाऊ भनेर गाउँलेले पठाएछन्, उनीहरूलाई केही लक्षण पनि छैन, हाम्रा स्वास्थ्यकर्मीले पनि गाउँलेकै कुरा सुनेछन्,’ उनले भने, ‘आइसोलेसनमा राख्दा सुत्केरीलाई स्याहार पुग्दैन भनेर घरमै फिर्ता गर्‍यौं ।’

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्