बागलुङ — बागलुङको ढोरपाटन नगरपालिका–९ र आसपास क्षेत्रमा बुधबार राति आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अझै १३ जना बेपत्ता छन् ।

राति १२ बजेतिर देउराली र सुपुरदुङ क्षेत्रमा खसेको पहिरोमा यहाँका १५ वटाभन्दा बढी घर पुरिएका छन् । बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको छ । पुगेपछि स्थानीयसहित उद्धार सुरु गरिएको हो । अहिलेसम्म चार जनाको शव भेटिएको र सनाखत भइनसकेको भण्डारीले बताए । उनका अनुसार बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी छन् ।

बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेनासमेत घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।घटनास्थल सदरमुकामबाट १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीय फूलमाया पुनले बताइन् ।

Advertisements

जिल्ला प्रहरीका नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार टोली उद्धारमा खटिरहेको छ । घटनास्थल पुग्ने बाटो क्षतविक्षत भएकाले जानेहरूले पनि सास्ती खेपेका छन् । घोडाबाँधेस्थित नेपाली सेनाको टोली पनि उद्धारका लागि गएको अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले बताए ।

ढोरपाटन सालझन्डी सडक खण्डमा पनि पहिरो खसेको छ । बर्खा लागेपछि यो खण्डमा सवारी चलेको थिएन । पहिरोले फलेघर भन्ने स्थानतर्फ पनि क्षति गर्न सक्ने त्रास बढेको पुनले बताइन् । उक्त स्थानमा दुई दर्जन घर जोखिममा छन् । पानी परिरहेको र मौसम परिवर्तन भइरहने भएकाले उद्धारमा कठिनाइ भएको ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्