काठमाडौं । निरन्तरको लकडाउन र त्यसले आर्थिक गतिविधिमा प्रभाव पार्दा चालु आर्थिक वर्ष २०७७/७८ को सुरुआतबाटै कर प्रशासनमा दवाव परेको छ । लकडाउन खुकुलो भएपछि कर संकलनमा बढोत्तरी भएकोमा अहिले फेरि घटेको छ ।

Advertisements

सरकारले साउन महिनामा अपेक्षित राम्रो परिणाममा कर संकलन गरेको थियो । तर, भदौ लागेपछि भने राजस्व संकलन पुन प्रभावित भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि २ भदौसम्म ६१ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठेको थियो । त्यसपछिको १५ दिनमा भने मात्र १४ अर्ब ११ करोड रुपैयाँ राजस्व संलकन हुन सकेको छ । यो आन्तरिक तथा भन्सार दुबैतर्फको राजस्व हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर निषेधाज्ञापछि कर संकलनमा चाप देखिन थालेको बताउँछन् ।

‘हुन त भदौ महिना धेरै ठूलो परिमाणमा कर संकलन हुने महिना होइन,’ उनले भने, ‘तर, आर्थिक गतिविधिहरु हुन नसकेपछि प्रभाव स्वभाविक रुपमा देखिन्छ ।’

सरकारले विभागका लागि मात्र भदौ महिनामा २१ अर्ब रुपैयाँ राजस्व संलकनको लक्ष्य तोकेको छ । करको किस्ता साउन, असोज, पुस र चैतमा तिर्नुपर्ने भएकाले यी महिनामा संकलनको लक्ष्यसमेत बढी तोकिएको हुन्छ ।

यो वर्ष सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको छ । यो लक्ष्य राजस्व बाँडफाँटबाट तल्लो सरकारमा जाने रकम समेतको हो । त्यसो त राजस्व संकलनमा यो वर्ष सरकारले अघिल्लो वर्षको तुलनामा कम लक्ष्य राखेको छ । तर, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका गतिविधिले पछिल्लो लक्ष्यमा समेत चाप पर्ने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्