गोविन्द रिजाल

आज उस्ले भन्यो
के हो मित्र ?
अचेल कविता आउँदैन ।।

Advertisements

हैन कहाँ गएको थियो र आउनलाई ?
मुग्लान गएको भए
लास बनेर आँउथ्यो
खेतबारीमा भए
गास बनेर आऊथ्यो
न कविता मुग्लान गयो
न खेतबारीमा छ
मेरो कविता त
अलिकति ढीडो घिचेर
घरमै लमतन्न छ पिढीमा
कही नगएपछी
कहाँबाट आँउछ कविता ?

बिहानीसँगै आँउछ भनौ
यहाँ आई नपुग्दै रात पर्छ
जुनेलीसँगै आँउछ भनौ
हराउँछ उज्यालोसँगै
न उज्यालोमा,
न अध्यारोमा बाटो पाउँछ कविताले
बाटो नै बिराएपछी
कहाँबाट आउछ कविता ?

आँसुसँगै आँउछ भनौ
कसरी तर्छ र त्यत्रा भेलहरू
हाँसोसँगै आँउछ भनौ
बर्षौ कुर्नु पर्छ झुपडिले हाँस्न पनि
कतै भेल त
कतै पालो कुर्नपर्ने भएपछी हाँस्नलाई
अनि,
कविता कहाँबाट आँउछ ?

बाटोमा फुत्त निस्कि भनौ
बाटो गल्लीहरू बन्द छन
अोठमा आउन त भनौ
मुखेला लगाईएको छ ओठमा
फेरी डर पनि छ
कविता सर्ला कि भनेर
ढोका थुनेपछी
मुख थुनेपछी
भित्रै कैद छ कविता
यस्तो बेलामा,
कविता कहाँबाट आउँछ ?

त्यसैले,
अचेल कविता
चार दिवारमा कैद छ
उकुस मुकुस छ कविता
पर्खालभित्र
कडा सुरक्षामा बस्न परेपछी
कविता कहाँबाट आँउछ ?

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्