सल्यान — रोल्पाको त्रिवेणी गाउँपालिकास्थित रोल्पा सिमेन्ट उद्योगले कच्चा पदार्थ र सिमेन्ट ओसार्न प्रयोग गरेका टिपरका कारण स्थानीय बासिन्दा लामो समयदेखि सास्ती भोग्न बाध्य छन् । टिपरले उडाउने धुलो र धुवाँका कारण कपुरकोट गाउँपालिका र आसपासका बासिन्दाले सास्ती भोग्नुपरेको हो ।कपूरकोट क्षेत्रमा उद्योगले दैनिक ७० वटा टिपर सञ्चालन गरिरहेको छ । स्थानीयले लामो समयदेखि जथाभाबी टिपर नचलाउन खबरदारी गरे पनि बेवास्ता भइरहेको ५ नम्बर वडाका गिरिराज ओलीले बताए । उनका अनुसार बढी भार भएका टिपर ग्रामीण सडकमा सञ्चालन हुँदा अधिकांश सडक जीर्ण बनेका छन् । सिमेन्ट उद्योगका टिपरका कारण सारपानी, खहरे, कपूरकोट बजार, सल्ललाम, बगाले बिसौना र खालीका झन्डै २ सय परिवारले विभिन्न सास्ती भोगिरहेको उनको भनाइ छ । ‘जथाभाबी धुलो र धुँवाका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन्,’ उनले भने, ‘बढी भार भएका गाडीका कारण सडकका अधिकांश खण्ड चिराचिरा परेका छन् ।’ धुलोका कारण अधिकांश घर बस्न लायक नभएको उनको गुनासो छ ।

Advertisements

कपूरकोट र खाली बजारमा टिपरले उडाउने धुलोले व्यवसाय गर्न समस्या भएको स्थानीय व्यापारी शेरबहादुर रोकाले बताए । ‘टिपरले उडाएको धुलोले गाउँघर धुलाम्मे बनेका छन्,’ उनले भने, ‘कपुरकोट आउने बटुवाले पनि ठूलो दुःख भोगेर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार टिपरका कारण सडकमा दुर्घटनाको जोखिम पनि बढिरहेको छ ।

टिपरका कारण सडक छेउछाउमा लगाइएको तरकारी र अन्नबालीमा पनि असर परेको कपूरकोट गाउँपालिका–५ का वडाध्यक्ष यमकुमार बस्नेतले बताए । ‘हामीले सिमेन्ट उद्योगलाई पटकपटक सचेत गराएका छौं,’ उनले भने, ‘तर लामो समयदेखि बेवास्ता भइरहेको छ ।’

सिमेन्ट उद्योगका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीले स्थानीयलाई असर नपर्ने गरी टिपर सञ्चालन भइरहेको दाबी गरे । ‘सरकारले २ वर्षयता फ्याक्ट्रीसम्म पुग्ने सडकको मर्मतमा बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको हो, उद्योगका तर्फबाट ढुवानी कम्पनीसँग सहकार्य गरी सामान्य मर्मतका काम नियमित गरिरहेका छौं ।’

उनका अनुसार कच्चा पदार्थ र सिमेन्ट ढुवानीको जिम्मा लिएको पुन कन्स्ट्रक्सनले प्रतिटन २५ रुपैयाँ रकम संकलन गरेर सडक मर्मतको काम गरिरहेको छ । सिमेन्ट उद्योगसम्म पुग्ने सडक मर्मतका लागि बजेट विनियोजन गरिए पनि गत वर्ष काम हुन नसक्दा फ्रिज गएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्