बझाङ । बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्।

Advertisements

जिल्लाको मष्टा गाउँपालिका–२ खिकालामा बलात्कारको घटना गाउँमै मिलापत्र गरेर ढाकछोप गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले बताए।

खिकालामा गत साउन २९ गते भएको बलात्कारको घटना गाउँमै मिलापत्र गरेर ढाकछोप गरेको भन्दै स्थानीय झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, धमकला दमाई, पिरु दमाई र गल्फे बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

असोज ७ गते खिकालाकै १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या घटनामा स्थानीय १८ वर्षीय राजेन्द्र बोहरा पक्राउ परेका थिए। सम्झनाको बलात्कार र हत्या घटना स्वीकारेका राजेन्द्र विगतदेखि नै आपराधिक क्रियाकलापमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत बोहराले बलात्कार गरेका थिए। बलात्कारको पर्सिपल्ट साउन ३१ गते आफन्तहरूसँग बसेर छरछिमेकीहरुले मिलापत्र गरेका थिए। बोहराले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोग्न लगाई उनीहरुले मिलापत्र गरिएको बताइएको छ।बलात्कारजस्तो जघन्य अपराध गाउँघरमै मिलापत्र गरेर ढाकछोप गरिएको भन्दै प्रहरी ६ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्