
धनगढी । वैदेशिक रोजगारीमा गएकी कैलालीको धनगढी–९ गौरीकटानकी ४६ वर्षीया गीतकुमारी पार्कीको उतै मृत्यु भएपछि गएको १२ असोजमा शव आइपुग्दा केटाकेटी अलमलिए। घरबेटीले आँगनमा शव राख्न नदिएपछि वडा नं.९ की वडा सदस्य शारदा ताम्राकारले आफ्नो घरतिर लैजान लगाइन्। केटाकेटी उतै लागे।

गीता सात वर्षअघि कुवेत जाँदा कान्छी छोरी नौ महीनाको मात्र थिइन्। एउटा छोरो ६ वर्ष र अर्को आठ वर्षका थिए। तीनै जनालाई १० वर्षीया छोरी सुशीलाको जिम्मा लगाएर उनी विदेसिएकी थिइन्।
एक वर्षसम्म त बाबुको साथ थियो। तर, उनको मृत्यु भएपछि सुशीलाले तीनै भाइ बहिनीलाई आफैँले हुकाईन्। कान्छी बहिनीलाई बजारबाट दुध किनेर खुवाउँथिन्।
कोठा भाडा लिएर बसेका थिए। आमाले विदेशबाट पठाएको पैसाले उनीहरु पालिएका थिए। अभिभावकको भूमिका निर्वाह गर्नुपरेपछि सुशीलाले पढ्न पाइनन्। तर, तीन भाइ बहिनीलाई भने पढाउँदै छिन्।
उनीहरुकी आमा गीताले भारतीय नागरिक रामप्रसादसँग विवाह गरेकी थिइन्। रामप्रसाद नेपालमै कहिले इँटाभट्टामा त कहिले सडक बनाउने ठेकेदारको मजदुरी गर्थे। श्रीमानको रक्सी खाने बानीले गीतालाई कहिलै सुख थिएन। त्यहीकारण गीता पुरै परिवार छोडेर घरेलु कामदारको रुपमा कुवेत जान बाध्य भइन्।
उनका जेठी र माइली छोरीको भारतमा बिहे भएको छ। सुशीला साइँली छोरी हुन्। उनीहरुले आमा धन कमाएर फर्किने आशामासात वर्ष बिताए। तर, आमाको शव मात्र आयो। शव आँगनमा राखेपछि सुशीला र उनका दुई भाइ सुरज र करन बाकस समातेर रुन थाले। कान्छी बहिनी लक्ष्मी आँगनमै खेलिरहेकी थिइन्।
गीताले बच्चाहरुलाई धनगढी उपमहानगरपालिका–८, कैलाली बहुमुखी क्याम्पसको गेट नजिकै लक्ष्मी भण्डारीको घरमा कोठा भाडा लिएर राखेकी थिइन्। सुशीलाले भनिन्, “आमाले महिनामा आठ/दश हजार रुपैयाँ पठाउनु हुन्थ्यो। त्यहि पैसाले बाँचेका थियौँ। बाँकी पैसा कहाँ जम्मा गर्नुहुन्थ्यो भन्नुभएन। भिडियो कल गर्दा आफू आएपछि जग्गा किनेर घर बनाउने भन्नुहुन्थ्यो।”
तर, आमाको शव मात्र आएपछि उनीहरु विचल्लीमा छन्। घरबेटीले आगनमा शव राख्न नदिएपछि सुशीलाले नातामा दिदी पर्ने धनगढी उपमहानगरपालिका वडा–९ की वडा सदस्य गौरीकटान निवासी शारदा ताम्राकारलाई फोन गरिन्। शव उनैको घरमा लगियो। किरिया खर्च पनि उनैले व्यवस्था गरिदिइन्।
गीता नेपाल आउनलाई तीन महिनादेखि कुवेतस्थित नेपाली राजदूतावासमा बसेकी थिईन्। भिडियो कल गरेर लुगा कपडा, गुडिया किनेको देखाउँथिइन्। दशैमा घर आउने भनेकी थिईन्। उनलाई स्वाशप्रस्वाशको समस्या थियो। नेपाल आएर चेकजाँच गर्ने योजना थियो।
स्वास्थ्यमा जटिल समस्या देखिएपछि कुवेतको मुवारक अस्पातलमा भर्ना भईन्। अस्पतालले उनको निमोनिया, स्वाशप्रस्वाश र मुटुमा समस्या देखाएको थियो। उनको गएको ८ भदौमा अस्पतालमै मृत्यू भएको नेपाली राजदुतावास कुवेतबाट पठाइएको पत्रमा उल्लेख छ।
यता सुशीलालाई भने ३१ भदौ साँझ राजदूतावासले खबर गरेको थियो। गीताको कोरोना परिक्षण नेगेटिभ थियो। नेपाली राजदूतावास कुवेतमा गीताको तीन वटा (व्याग) लगेज अलपत्र छ।
पैतृक सम्पतिको नाममा आमाको नागरिकता मात्रै
रामप्रसादको आफ्नो कमाइ जाडरक्सीमा नै सकिन्थ्यो। त्यसैले केही सम्पति जोड्न सकेनन्। गीतासँग के कति थियो सुशीलालाई थाहा छैन। अहिले उनीसँग आमाको नेपाली नागरिकता र राहदानीबाहेक केही छैन।
गीताले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिसंगै नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा रु.५ लाखको वीमा पनि गरेकी थिइन्। उक्त वीमाको म्याद १५ सेप्टेम्बर २०१३ देखि २०१५ सम्म मात्र थियो।
वैदेशिक रोजगारीको क्रममा शारीरिक क्षति भएपछि वीमा रकम दाबी गर्न सकिन्छ। तर, गीताको भीसाको म्याद सकिएपछि म्याद थप गरि सन् २०२३ जुन ३० सम्म कायम गरेको देखिन्छ। श्रम स्वीकृति चाँहि दुई/दुई वर्षमा लिनुपर्ने प्रावधान रहेको श्रम कार्यालय धनगढीको प्रमुख जनक उकेडाले जानकारी दिए।
श्रम स्वीकृतिको कागजात भए वीमा रकम हकदाबी गर्न सक्ने उकेडाले बताए। गीताको दहसंस्कारदेखि काजकिरियामा धनगढी–९ की शारदा ताम्राकारले सहयोग गरिन्।

