जुम्ला । चन्दननाथ मूर्ती चोरी काण्डको रहस्य खुल्दै गएको छ । चोरी काण्डमा मूर्ती सहित एकपछि अर्को पक्राउ पर्न थालेपछि रहस्य खुल्दै गएको हो । केही दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका-१० बोहरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडार मुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला परेकाे छ ।

Advertisements

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको हाे । ११ मंसिर २०७३ मा चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहिने शङ्ख भेटाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगाइएकाे उनले बताए । उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटिएकाे हाे ।अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अघि बढाइएको उनले बताए।

तीन दिन अघि पक्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद बिष्टसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यो घटनाबाट चार वर्ष अघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे रहस्य खुल्न थालेको प्रहरीले जनाएको छ।

यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरू बेबारिसे अवस्थमा भेटिएका थिए।

११ मंसिर ०७३ मा चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित दर्जनाै मूर्ति चोरी भएका थिए। घटनाकाे केही दिन लगतै मन्दिरका पुजारी चन्द्रमाैलेश्वर गिरी र स्थानीय जयकृष्ण अाचार्य पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्