मकवानपुर — घूस रकमसहित हेटौंडामा प्रहरी हवल्दार पक्राउ परेका छन् । शुक्रबार हेटौंडा–९, पशुपतिनगरमा घूस रकमसहित प्रहरी हवल्दारलाई रंगेहात पक्राउ गरिएको हो ।

Advertisements

पूर्वपश्चिम राजमार्गमा सवारी साधनसँग ३ सय घूस रकम लिँदै गर्दा उनलाई प्रहरीको ‘स्ट्रिङ अप्रेशन’को टोलीले पक्राउ गरेको हो । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको सवारीसाधनलाई सहजीकरण गर्ने भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत हवल्दार देवीलालप्रसाद ठाकुरले ३ सय रुपैयाँ घूस लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरीको टोलीले ठाकुरलाई घूससहित रंगेहात पक्राउ गरेको र उनलाई तत्कालै निलम्बन गरिएको बताइएको छ । इप्रका पशुपतिनगरले ट्याक्टर, टिपर व्यवसायीलाई धेरै दुस्ख दिएको भन्दै गुनासो परेपछि प्रहरीले अप्रेशन नै चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।

निलम्बित हवल्दार ठाकुरसँगै अर्का प्रहरीलाई पनि नियन्त्रणमा लिइएको थियो । तर, उक्त प्रहरीको घूस लेनदेनमा प्रत्यक्ष संलग्ना नपाइएको भन्दै कारबाही नगरिएको प्रवक्ता रानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्