पुनर्निर्माण सकिएर बुधबार उद्घाटन भएको रानीपोखरीको बाँकी रहेका कामहरु काठमाडौं महानगरपालिकाले चरणबद्ध रुपमा अगाडि बढाउने भएको छ।

Advertisements

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकाले चरणबद्ध रुपमा निर्माण गरिने बताए।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम पूरा भए पनि महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत् रानीपोखरीको विकास गर्न भने बाँकी छ। रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुला हुने मेयर शाक्यले बताए। तर, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने तिहारमा भाइटीकाको दिन खुल्नेछ।

रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पाटी लगायत संरचनाको निर्माण गर्न बाँकी छ।

त्यस्तै, गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्ति बाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत् रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए। यी कामहरु एकैसाथ गर्ने भन्दापनि चरणवद्ध रुपमा अगाडि बढाउने रणनीति अनुसार काम भइरहेको पनि उनले बताए।

२०७२ शालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुननिर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो। तर, पछि विज्ञ र सम्पदाप्रेमीहरुको सुझाव र दबाब अनुसार भूकम्प अघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्