नेपालगञ्ज । राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ।

Advertisements

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरूद्ध आरोपपत्र दायर गरेको हो।

कार्यालयबाट कर्मचारी र धितो मूल्यांकनकर्ताको मिलेमतोमा सरकारी कागज कीर्ते बनाई ऋण प्रवाह गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।

Advertisements

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार तत्कालीन प्रबन्धक शाहीसहितले कीर्ते कागजहरूको आधारमा कीर्ते धितो मूल्यांकन गरी बैंकमा पेश गरेका थिए।

पेश गरेर उनीहरूले गैर कानूनी रूपमा हानी पुर्‍याएको, सरकारी कागज कीर्ते गरेको, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको नोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको प्रवक्ता अधिकारीले बताए।

अख्तियारले प्रबन्धक शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद, फहमिदा बानो जसगढ र सूचिकृत धितो मूल्यांकनकर्ता कर्णबहादुर केसीसँग एक करोड २५ लाख बिगोसहित सजायको मागदाबी गरेको छ। त्यस्तै, सकिना जसगढसँग भने ७५ लाख बिगो मागेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्