बारा । आगजनीको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भई जेल चलान गरिएका जसपा नेता प्रमोद गुप्ता र अरुण सिंह छैटौं दिन मंगलबार छुटेका छन् । ६ महिना कैद सजाय तोकिएका उनीहरूलाई अदालतले बिहीबार जेल चलान गरेको थियो ।

जघन्य अपराधबाहेकमा १ वर्षसम्म कैद सजाय पाएका दोषी आचरणमा बसे र प्रतिदिन ३ सय रुपैयाँका दरले राज्यलाई रकम बुझाए छाड्न मिल्ने प्रावधान रहेको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताए । सोही प्रावधानअन्तर्गत निवेदन दिएका उनीहरू न्यायाधीश प्रकाशप्रसाद पण्डितको आदेशमा रिहा भएको उनले जानकारी दिए ।

‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ मा १ वर्षभन्दा कम सजाय भएकालाई प्रतिदिनको ३ सयको दरले तिरे मैदमुक्त गर्ने व्यवस्था छ,’ उनले भने ।

Advertisements

६ महिनाको कैदबापत ५४ हजार रुपैयाँ बुझाएर छुटेको गुप्ताले बताए । गुप्ता र सिंह अदालतमा हाजिर हुन गएका बेला जेल चलान गरिएका थिए । तेस्रो मधेस आन्दोलन (२०७४ माघ) ताका कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट शैलेश झाको गाडी जलाएको अभियोगमा गुप्तासहित दुवैलाई २०७४ माघ २५ मा अदालतले ६ महिना कैद राख्ने र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा क्षतिपूर्ति भराउने फैसला गरेको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली लागी भरत चोकमा कलैयाकै हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै आन्दोलनकारीले अस्पतालमा प्रदर्शन गर्नुका साथै चिकित्सकको कार जलाएका थिए ।

उक्त घटनामा सुपरिटेन्डेन्ट झाले गुप्ता र सिंहविरुद्ध जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्