गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर बैंकबाट १९  करोड रुपैयाँ झिकेको खुलासा भएको छ।गायक अमात्यको १२ बिघा जग्गाको नक्कली धनीपुर्जा कुमारी बैंकको पर्सा शाखामा धितो राखी न्युराेड शाखाबाट एक महिनाअघि १९ करोड रुपैयाँ ऋण निकालेको पत्ता लागेको हो।

आफ्नो जग्गाको किर्ते लालपुर्जा बनाएर ऋण निकालेको थाहा भएपछि गायक अमात्यले दसैँअघि दिएको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्दा तथ्य खुलेको हो।

घटनामा संलग्न आरोपमा सीआईबीले केही हप्ताअघि ५ जनालाई पक्राउ गरेको छ।

Advertisements

सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहका अनुसार सरकारी लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि नक्कली जग्गा धनी एसकुमार महर्जन र मुक्तिनाथ गौतम,​ कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश्वर चौरासिया र बिचौलिया कुसन प्रधान​लाई नियन्त्रणमा लिइएको हो।

कोटेश्वरस्थित बेनियल ट्रेडिङ कम्पनीका सञ्चालक गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर काठमाडौंको न्युरोडस्थित कुमारी बैंकको शाखाबाट १९ करोड रुपैयाँ ऋण झिकेको पत्ता लागेको हो।

ऋण स्वीकृत गर्न नक्सालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयलाई पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएपछि न्युरोडस्थित शाखाबाट रकम निकालिएको पाइएको सीआईबीले जनाएको छ।

उक्त किर्तेबारे विस्तृत अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्