गणेश आचार्य 
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई तुलसीपुर उद्योग बाणिज्य संघले २४ कार्तिकमा आफ्नै कार्यालयमा बोलाएर स्वागत तथा सम्मान गर्‍यो । प्रजिअ रेग्मीलाई स्वागत र सम्मान गर्न तुलसीपुरका व्यवसायी मात्रै होइन,अबैध क्रसर उद्योगका संचालक पनि अग्रपंक्तिमा देखिए । उद्योग बाणिज्य संघले प्रजिअलाई स्वागत र सम्मान गर्ने कार्यक्रममा अग्रपंक्तिमा गएर पुष्प गुच्छाले स्वाग गर्ने मध्येका एक हुन्,मंगलम बालुवा प्रशोधन उद्योग तुलसीपुरका संचालक विमल रिजाल । रिजाल संचालक रहेको उक्त उद्योगले बालुवा प्रशोधन गर्ने अनुमति मात्रै पाएनपनि नियम विपरीत क्रसरको काम समेत गर्दै आएको छ । उक्त बालुवा प्रशोधन उद्योगलाई जिल्ला प्रशासन कार्यालय दाङले ´अबैध` क्रसर उद्योगको सूचीमा सूचीकृत समेत गरेको छ । दाङका तत्कालीन प्रजिअ दृघनारायण पौडेलले बन्द गर्न लिखित पत्र पठाएका अबैध १० क्रसर उद्योगको मध्ये मंगलमय बालुवा प्रशोधन उद्योग ५ नम्बरमा रहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित उक्त क्रसर उद्योगमा विमल रिजाल सहित मनोज रिजाल,जगतबहादुर खड्का र माधव बुढाथोकीको लगानी रहेको छ । विमल रिजाल कांग्रेस नेता समेत हुन् । उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उमेद्वारी घोषणा समेत गरेका छन् । मनोज रिजाल यहाँका प्रतिष्ठित व्यापारी हुन् । जगतबहादुर खड्का दाङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन भने माधव बुढाथोकी वाइसीएल दाङका अध्यक्ष हुन् । उनी अर्थमन्त्री जनार्दन शर्माका अतिनिकट मानिन्छन् ।
अबैध क्रसर उद्योगका संचालकले प्रजिअलाई पुष्प गुच्छाले स्वागत गरेपछि व्यवसायीले आश्चर्य व्यक्त गरेका छन् । तुलसीपुर उद्योग बाणिज्य संघका एक पदाधिकारीले नेपाल प्रेससँग आश्चर्य व्यक्त गर्दै भने,´अबैध क्रसर चलाउनेले सिडिओलाई स्वागत र सम्मान गर्नथालेपछी कसरी अबैध क्रसर बन्दा होलान् ?` दाङका एक तत्कालीन प्रजिअ(हाल अवकाश प्राप्त)ले नाम प्रकाशित नगर्ने शर्तमा भने,´अबैध धन्दा बन्द गराउने सिडिओले अबैध क्रसर संचालक सँग घाँटी जोड्ने हो भने उनीबाट अबैध काम बन्द गराउने अपेक्षा गर्न सकिदैन ।`
अबैध क्रसर संचालकको स्वागत र सम्मान थापेका प्रजिअ रेग्मीले भने आफू तुलसीपुर उद्योग बाणिज्य संघले बोएर कार्यक्रममा गएको र कसले के काम गर्छ भन्ने थाहा नपाएको प्रतिक्रिया दिए । दाङका १० वटै अबैध क्रसर उद्योग निर्बाध संचालनमा छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्